शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजन रावत
हुम्ला, फागुन ६ गते । सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया गाउँमा भएको आगलागीबाट एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ। मङ्गलबार राति करिब ९ बजे लागेको आगो राति १ बजे मात्र नियन्त्रणमा आएको थियो।
डाँडाफया गाउँका स्थानीय भागेन्द्र शाहीको तीनतले जस्तापाताले छापिएको घरमा आगलागी हुँदा घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार एक्कासि राति आगलागी भएको र स्थानीयवासी तथा धारापोरी प्रहरी चौकीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो।
आगलागीबाट घरभित्र रहेका सम्पूर्ण जिन्सी सामान जलेर नष्ट भएका छन्। आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। रातिको समय भएकाले क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। आगलागी भएको स्थान सदरमुकाम सिमकोटबाट करिब दुई घण्टा पैदल दूरीमा पर्छ।