• ६ फागुन २०८२, बुधबार

महोत्तरी–१ मा चुनावी सरगर्मी, नयाँ अनुहारप्रति आकर्षण

blog

क्षेत्र नम्बर १ का प्रमुख दलका उम्मेदवारहरू । तस्बिर : रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती
बर्दिबास, फागुन ६ गते ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको औपचारिक प्रचार सुरु भएसँगै महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी माहोल तातेको छ। यसपटक गठबन्धन नभएकाले चुनावी परिदृश्य फरक देखिनुका साथै परम्परागत मत विभाजन हुने अनुमान गरिएको छ। नेपाली कांग्रेसले दुई निर्वाचनपछि उम्मेदवार उठाएकाले स्थानीय मतदाताको मनोविज्ञानमा प्रभाव पर्ने विश्लेषण गरिएको छ।

यस क्षेत्रमा १ लाख ५ हजार ६४६ मतदाता रहेका छन्। १३ दलका र १२ स्वतन्त्र गरी २५ उम्मेदवार प्रतिस्पर्धामा छन्, जसमध्ये पाँच जना महिला उम्मेदवार रहेका छन्। विकास, रोजगारी, कृषि, सिँचाइ, स्वास्थ्य र शिक्षा यहाँका मुख्य चुनावी मुद्दा बनेका छन्।

मधेश प्रदेशमा व्याप्त राजनीतिक असन्तोष, पहिचानको बहस र विकासप्रतिको नैराश्यबाट यो क्षेत्र पनि अछुतो छैन। संघीयता कार्यान्वयनपछि पनि अपेक्षित सुशासन, रोजगारी र सेवा प्रवाहमा सुधार नआएपछि विशेषतः युवापुस्ता दलहरूप्रति आलोचनात्मक बन्दै गएका छन्।

यसै सन्दर्भमा नेपाली कांग्रेसले ‘बदलिएको कांग्रेस’ तथा विकास निर्माण र सुशासनको नारासहित विश्वास पुनर्निर्माणको प्रयास गरिरहेको छ भने नेकपा (एमाले)ले पूर्वाधार र विकासलाई मुख्य नारा बनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शिक्षा, स्वास्थ्य र भूमिहीन समस्या जस्ता पुरानै एजेन्डालाई नयाँ ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले भ्रष्टाचार नियन्त्रण र नयाँ राजनीतिक संस्कारलाई प्राथमिकता दिएको छ भने जनता समाजवादी पार्टी नेपालले गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको मुद्दा उठाएको छ।

विगतका दुई निर्वाचनमा माओवादीलाई सघाएको नेपाली कांग्रेसले यसपटक जिल्लाकै दुर्गम क्षेत्र खयरमाराका मुकेश काफलेलाई उम्मेदवार बनाएको छ। राजनीतिका नयाँ अनुहारका साथै क्षेत्रको इतिहासमै पहिलो पटक विद्यावारिधि हासिल गरेका उम्मेदवार भएकाले उहाँप्रति मतदाताको चासो देखिएको छ। जलविद्युत् विज्ञसमेत रहेका काफ्ले कृषिको आधुनिकीकरण, सिँचाइ, रोजगारी सिर्जना, चुरे संरक्षण, पर्यटन प्रवद्र्धन र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका अवधारणा लिएर मतदातामाझ पुगेका छन्।

एमालेले यसपटक पनि लक्ष्मी महतो कोइरीलाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा गिरीराजमणी पोखरेलसँग ४ हजार २८४ मतले पराजित भएका कोइरी २०७९ को निर्वाचनमा २३ हजारभन्दा बढी मत ल्याएर विजयी हुनुभएको थियो। मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विश्वकर्मा हत्या प्रकरणमा मुद्दा खेपेका उहाँ अदालतबाट सफाइ पाएपछि पुनः सक्रिय राजनीतिमा फर्किनुभएको थियो। उहाँले छोटो समयमै गरेको कामको जनताले मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार गिरीराजमणी पोखरेलका लागि यो निर्वाचन अग्निपरीक्षाका रूपमा रहेको छ। २०६४ सालदेखि यस क्षेत्रबाट तीन पटक निर्वाचन जित्दै आउनुभएका पोखरेल २०७९ मा एमालेका कोइरीसँग १ हजार ३० मतले पराजित हुनुभएको थियो। उहाँले बर्दिबास मेडिकल कलेज स्थापना, रेल्वे इन्जिनियरिङ अध्ययन, आयुर्वेद अनुसन्धान तथा अव्यवस्थित जग्गा व्यवस्थापनजस्ता अधुरा एजेन्डा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो ‘नयाँ राजनीतिक संस्कार’ र भ्रष्टाचार नियन्त्रणको एजेन्डासहित चुनावी मैदानमा छन्। २०७९ मा प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार हुँदा २ हजार ४०५ मत प्राप्त गर्नुभएका उहाँले यसपटक रोजगारी सिर्जनालाई केन्द्रमा राख्नुभएको छ।

जनता समाजवादी पार्टी, नेपालका युवा उम्मेदवार योगनारायण महतो पहिलो पटक चुनावी मैदानमा उत्रिनुभएको छ। शिक्षा र स्वास्थ्यलाई प्रमुख एजेन्डा बनाउँदै उहाँले ‘झुटो वाचा नगर्ने’ प्रतिबद्धता व्यक्त गर्नुभएको छ।