देवराम यादव
सप्तरी, फागुन ६ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ३ का उम्मेदवार एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मङ्गलबार घरदैलो अभियानलाई निरन्तरता दिनुभएको छ।
शम्भुनाथ नगरपालिकाका विभिन्न वडा तथा टोलमा मतदाताको घरदैलोमा पुगेर मत माग्ने कार्यलाई निरन्तरता दिनुभएको हो। पार्टीका केन्द्रीय सचिव एवं क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार शम्भुनाथ नगरपालिकाअन्तर्गत नरहैया, सखुवा, नरही, सिरकजरी, खोक्सर, कनकपट्टी र कठौना बजारका मतदातासँग भेटेर मत मागिएको छ।
घरदैलोका क्रममा बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नभएको, बिटौरी जग्गाको समस्या, क्षेत्रको प्रमुख सडक कठौना–पातो सडक निर्माण नहुँदा सास्ती झेल्नुपरेको, बेरोजगारी, सिँचाइ तथा मलखाद अभाव लगायतका समस्याहरू अधिकांश मतदाताले अध्यक्ष यादवसमक्ष राखेका छन्। यसअघिका जनप्रतिनिधिहरूले विकास तथा जनताको हकहितका सवालमा ध्यान नदिएको भन्दै सर्वसाधारणले गुनासो गरेका छन्।
संविधान संशोधन गरी बाँकी अधिकार प्राप्तिका साथै विकास र समृद्धिका लागि आफू प्रयासरत रहने अध्यक्ष यादवले विश्वास व्यक्त गर्नुभयो। जिल्लाकै पछाडि परेका क्षेत्रका रूपमा रहेको सप्तरी–३ मा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउँदै उहाँले भन्नुभयो, “एक सरकारकै नीति विभेदकारी छ। मधेशबाट ७० प्रतिशत राजस्व असुल्ने तर मधेशलाई ११ प्रतिशत मात्र बजेट विनियोजन गरिन्छ। मधेशका जिल्लाहरू अझै पछाडि छन्, माथि उठाउन पर्याप्त बजेट आवश्यक छ।”
घरदैलोका क्रममा उम्मेदवार समेत रहेका अध्यक्ष यादवले पूर्व सांसदद्वय दानालाल चौधरी र जगदीश साहसँग भेटघाट गर्नुभएको छ। भेटघाटमा समसामयिक राजनीतिक अवस्था, जनताको हक–अधिकार तथा क्षेत्रको विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो।
घरदैलो कार्यक्रममा केन्द्रीय नेता एवं पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सदस्य एवं मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव ९बिक्की०, केन्द्रीय सदस्यद्वय शैलेन्द्रमोहन झा र रमिला साह, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, पार्टीका जिल्ला उपाध्यक्ष हरेराम यादव, निर्मला मण्डल, धनेश्वर यादव, बेचनी सरदार लगायतका नेताहरू सहभागी हुनुभएको थियो।
सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर गाउँपालिका, रुपनी गाउँपालिका, राजगढ गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिका गरी कुल १ लाख ११ हजार ८७१ मतदाता रहेका छन्।