बाजुरा समाचारदाता
बाजुरा, फागुन ६ गते । बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी उम्मेदवार आउने पर्खाइमा बसेका छन् । २०७६ देखि यो बस्ती पहिरो र नदी कटानको उच्च जोखिममा रहँदै आएको छ । अहिले यो बस्तीका स्थानीय हिउँदमा घरमा बस्ने र बर्खाको समय घर छोडेर सुरक्षित ठाउँमा खुला चौरमा त्रिपाल टाँगेर बस्ने गर्छन् । पहिरो तथा नदी कटानको जोखिममा परेको यो बस्तीलाई स्थानान्तरणको माग राख्ने गरेर अहिले ओलेनावासी गाउँमा उम्मेदवारको पर्खाइमा बसेका हुन् । बस्तीको माथिबाट पहिरो बग्ने र बस्तीको मुनि नदीले सधैँ जमिन कटान गर्दै जान्छ । यसरी पहिरोले पुर्ने र नदीले जमिन कटान गर्दै गएपछि अहिले ओलेनावासी यो बस्ती स्थानान्तरणको पर्खाइमा रहेका छन् । यसका लागि उनीहरूले धेरै पटक सरकारसँग माग राख्दै आएका हुन् तर सुनुवाइ भएको छैन ।
बस्ती जोखिममा परेपछि अहिले यहाँका स्थानीयवासी हिउँदको महिना घर बस्ने र बर्खाको समय त्रिपालको भरमा खुला चौरमा बस्ने गरेको स्थानीय दलुनाथले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला यहाँ १६ परिवार थिए । तीन परिवारको घर गत वर्षमा नै नदीले बगाएपछि उनीहरू यहाँदेखि अन्य ठाउँमा गइसके । अहिले १३ घरपरिवार मात्र यहाँ बसोबास गर्छन् । यी १३ घर पनि पहिरो र नदीको मुखमा पुगेका छन् ।” यति बेला चुनाव आएको छ । यो चुनावमा भोट माग्न आउने उम्मेदवारलाई बस्ती स्थानान्तरणका लागि कुरा राख्ने स्थानीय मतदाता बताउँछन् । बर्खामा नदी आएर जमिन कटान गरेर फर्कियो तर उम्मेदवार भने अहिलेसम्म गाउँमा नफर्किएको नाथले बताउनुभयो । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि अहिले उम्मेदवारहरू गाउँबस्तीमा छिर्ने गरेका छन् ।