• ६ फागुन २०८२, बुधबार

चुनाव धेरै आए तर आएन पहिचान

blog

सुन चाल्दै गरेका सोनाहा ।

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), फागुन ६ गते । बर्दियाका आफ्नो जातीय पहिचानको लडाइँ लडिरहेका सोनाहा जातिका मतदाताले मत माग्न आउनेसँग सोनाहाको जातीय पहिचानका लागि के एजेन्डा छ भनी प्रश्न सोध्ने गरेका छन् । 

फागुन २१ गते हुने चुनावका लागि मत माग्न आउने उम्मेदवारसँग सोनाहाहरूले आफ्नो पहिचान माग गरिरहेका छन् । २०६४ सालदेखि सुरु भएको जातीय पहिचानको लडाइँ अझै नटुङ्गिएकोमा सोनाहाहरू चिन्तित छन् । सर्वोच्च अदालतले २०७२ मङ्सिरमा सोनाहालाई लोपोन्मुख आदिवासी जनजातिको सूचीमा राखेर अरू जातिसरह सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने भन्दै सरकारलाई निर्देशन दिएको थियो तर हालसम्म सरकारले उनीहरूलाई लोपोन्मुख आदिवासी जनजातिको सूचीमा राखेको छैन ।

निर्वाचन धेरै भए पनि अहिलेसम्म सोनाहाको जातीय पहिचानका लागि कुनै पनि राजनीतिक दलले एजेन्डा नबनाएको गुनासो उनीहरूको छ । नेपाल सोनाहा सङ्घका पूर्वअध्यक्ष घुमलाल सोनाहाले छुट्टै पहिचान बोकेको सोनाहा जातिलाई २०६४ सालदेखि लोपोन्मुख आदिवासी जनजातिको सूचीमा राख्नुपर्ने माग गर्दै आएको बताउनुभयो । उहाँले देशमा न्यून सङ्ख्यामा रहेको भए पनि लोपोन्मुख जातिमा सूचीकृत नहुँदा संविधानको मर्मविपरीत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिचानको मुद्दा उठाउन सुरु गरेपछिको यो चुनाव पाँचौँ हो तर पनि दलहरूले हाम्रा समस्यालाई स्विकारेनन् ।” यस पटक उम्मेदवारसमक्ष लिखित प्रतिबद्धता माग्ने निधो गरेको उहाँले बताउनुभयो । 

लोपोन्मुख आदिवासी जनजातिको सूचीमा सोनाहालाई नराख्दा सोनाहाहरू मर्कामा परेका छन् । उनीहरूले पाउनुपर्ने सामाजिक सुरक्षाको सुविधा पाउन सकेका छैनन् भने शिक्षित युवासमेत लोक सेवा आयोगलगायत स्थानमा आरक्षण कोटा पाउन सकेका छैनन् । “हाम्रो सङ्ख्या न्यून छ । आफ्नो छुट्टै पहिचान, वेशभूषा, रहनसहन र सांस्कृतिक परम्परा छ तर सरकारले पहिचान दिएको छैन ।” गेरुवा गाउँपालिका–६ का दुःखराम सोनाहाले भन्नुभयो, “युवाले आरक्षण नपाउँदा भारतलगायत देशमा कामको खोजीमा जाने र उतै बस्ने गरेका छन् ।” सोनाहाहरूले नदीमा निर्वाध रूपमा माछा मार्ने र सुन चाल्ने परम्परागत पेसा अपनाउन नपाउँदा सोनाहा बस्ती अहिले खाली देखिन थालेको छ । 

सोनाहा विकास समाजका अध्यक्ष इन्द्र सोनाहाले नेपालमा न्यून जनसङ्ख्या भए पनि लोपोन्मुख आदिवासी जनजातिको सूचीमा नपरेको गुनासो गर्नुभयो । उहाँले बर्दिया जिल्लामा करिब आठ सयको सङ्ख्यामा सोनाहा रहेको बताउनुभयो । २०७८ को जनगणना अनुसार देशभरिमा एक हजार १८२ जना सोनाहा जातिको बसोबास रहेका छन् ।