• ६ फागुन २०८२, बुधबार

कुलतमुक्त युवा

blog

कुनै पनि देशको महत्वपूर्ण सम्पत्ति त्यहाँको जनशक्ति हो । ज्ञान, सिप र क्षमताले भरिपूर्ण जाँगरिलो, इमानदार र अनुशासित जनशक्तिबाट देशको विकास सम्भव छ । जापानको विकास जाँगरिलो, इमानदार र अनुशासित नागरिकको कारणबाट सम्भव भएको मानिन्छ । दोस्रो विश्वयुद्धमा तहसनहस भएको जापान मेहनती नागरिककै कारण चाँडै विश्वकै दोस्रो ठुलो अर्थतन्त्र बन्न सकेको थियो । नागरिकमा ज्ञान, सिप र क्षमतायुक्त निर्माणका निम्ति जनशक्तिको दीर्घकालीन व्यवस्थापन गरिनु पर्छ । शिशुको स्वास्थ्यमा ध्यान दिनु पर्छ । गर्भावस्थामा पनि ध्यान दिनु पर्छ । स्वास्थ्य र पोषणमा सन्तुलन कायम गर्नु पर्छ । बालबालिका असल वातावरणमा हुर्काउँदै देशको आवश्यकता र भविष्यलाई ध्यान दिई शिक्षादीक्षाको आवश्यकता पर्छ । विद्यालय शिक्षा तथा त्यसपछि समेत युवालाई देशीय चरित्रसहितको ज्ञान, सिप र क्षमतायुक्त शिक्षा दिनुपर्ने हुन्छ । अझ महìवपूर्ण पक्ष त युवालाई कुनै पनि कुलतबाट मुक्त हुने खालको वातावरण दिनुपर्ने हुन्छ । आजका बालबालिका भोलिका देशका भविष्य हुन् । बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतमा ध्यान दिन सकिएन भने देशको भविष्य नै गम्भीर सङ्कटमा पर्न सक्छ । बालबालिका मात्र होइन, आजका किशोरकिशोरी नै भोलिका ऊर्जाशील भविष्य पनि हुन् । युवा कुलतमा परे भने भोलि देशले ठुलो मूल्य चुकाउनु पर्छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले हालै सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले युवा धूमपानलगायतको कुलतमा पर्न थालेको देखिएको छ । यो अवस्थाप्रति गम्भीर हुने बेला आएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपाल बहुसूचक सर्वेक्षण २०८१/८२ प्रतिवेदन सार्वजनिक गरेको छ । यो यस्तै खालको चौथो बहुसूचक सर्वेक्षण हो । सर्वेक्षण अनुसार १५ वर्ष उमेर नपुग्दै चुरोटको कुलतमा लाग्ने काठमाडौँ उपत्यकामा बढी देखिएका छन् । विद्यालय तहदेखि नै किशोरकिशोरी चुरोटलगायत सुर्तीजन्य कुलतमा पर्न थालेको देखिएको छ । सर्वेक्षणले ५.५ प्रतिशत किशोरकिशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेको देखाएको छ । हुन पनि राजधानीको कतिपय चिया पसलमा विद्यालय पोसाकमै चुरोट प्रयोग गरिरहेका किशोरकिशोरी देख्न सकिन्छ । सर्र्वेक्षणले प्रदेशस्तरीय तुलना पनि गरेको छ । तथ्याङ्क अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशको ग्रामीण क्षेत्रका किशोरकिशोरी धूमपानका प्रयोगकर्ता देखिएका छन् । गण्डकी प्रदेशको समग्रमा भने ४.१ प्रतिशत किशोरकिशोरी १५ वर्ष नपुग्दै चुरोटको कुलतमा लागेको पाइएको छ । समग्रमा ७.६ प्रतिशत पुरुष र २.१ प्रतिशत महिलाले १५ वर्ष उमेरअघि नै कम्तीमा एक खिल्ली चुरोट/बिँडी पूरै सेवन गरेको सर्वेक्षणमा देखिन्छ । सर्वेक्षणले नेपालमा १५ देखि ४९ वर्ष उमेर समूहका ५.१ प्रतिशत महिला कुनै न कुनै किसिमको सुर्तीजन्य पदार्थको लतमा रहेको पाइएको छ । यही लतमा यही उमेर समूहका पुरुष हिस्सा ४१.८ प्रतिशत छ । सार्वजनिक सर्वेक्षणमा उमेर समूह १५ देखि ४९ वर्ष समूहका व्यक्ति रहेका थिए । विपन्न परिवारका किशोरकिशोरी अझ बढी कुलतमा परेको देखिएको छ । यसले सुर्तीजन्य कुलतमा किशोर तथा युवा पनि अझ बढी परिरहेको देखिनु समाजको राम्रो चित्र बाहिर निस्कन कठिन छ ।

सुर्तीजन्य कुलतले युवावयदेखि नै दुष्प्रभाव पार्दा व्यक्तिको सर्वाङ्गीण विकासमा प्रतिकूल असर पर्छ । स्वास्थ्यमा असर त पार्छ नै साथसाथै ज्ञान, सिप र क्षमता अभिवृद्धिमा पनि प्रतिकूल असर पर्छ । केही वर्षअघि नेपाल स्टेप्स सर्भे सन् २०१९ मा १५ देखि ६९ वर्ष उमेर समूहका ४८.३ प्रतिशत पुरुष र ११.६ प्रतिशत महिला सुर्तीजन्य पदार्थको कुलतमा रहेको उल्लेख थियो । त्यसमा २८ प्रतिशत पुरुष र ७.५ प्रतिशत महिला चुरोट सेवनकर्ता रहेको उल्लेख थियो । त्यसमा सुधार जरुरी थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदनले सुर्तीजन्य पदार्थको प्रयोगकर्ता धनी व्यक्तिभन्दा गरिब व्यक्ति बढी रहेको देखाएको छ । सर्वेक्षणले अति गरिब वर्ग २५.५ प्रतिशत र अति धनी वर्गका १६.१ प्रतिशत मात्रै सुर्तीजन्य पदार्थको कुलतमा लागेको देखाएको छ । सर्वेक्षणले दैनिक २० खिल्लीभन्दा बढी चुरोट सेवन गर्नेहरूमा १५ देखि १७ वर्ष उमेर समूहका बढी देखिनु गम्भीर छ । त्यसै गरी सर्वेक्षणमा सहभागी सो उमेर समूहका कुल एक हजार ८९९ जनामध्ये ९.५ प्रतिशतले दैनिक २० खिल्लीभन्दा माथि चुरोट सेवन गर्ने गरेको देखिएको छ । यो त झनै गम्भीर अवस्था हो । युवालाई घरपरिवारदेखि नै कुलतमुक्त गर्न पारिवारिक परामर्श आवश्यक देखिन्छ । विद्यालय तथा कलेज तहका साथै समुदायमा पनि कुलतमुक्त युवा समाज निर्माणमा परामर्शलगायतमा ध्यान दिनु वाञ्छनीय छ ।