• ६ फागुन २०८२, बुधबार

मापसे गरी स्कुल बस चलाउने पाँच पक्राउ

blog

मापसे चेकजाँच गर्दै ट्राफिक प्रहरी । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, फागुन ६ गते ।
कास्कीको पोखरा महानगरमा मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने प्रवृत्ति देखिएको छ । अभिभावक र विद्यार्थीले समेत चालकहरुले मदिरा सेवन गरी गाडी चलाउने गरेको गुनासो गरेपछि भएको चेकजाँचले यस्तो पुष्टि गरेको हो ।

सोमबार चेकजाँचका क्रममा पाँच चालकले मापसे गरी बस चलाएको फेला परेकोमा मङ्गलबार थप पाँच चालकलाई मापसे गरी गाडी चलाइएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ । मङ्गलबार रत्न ज्योति बोडिङ स्कुलको ग१क ५९६२ नम्बरको बसका चालक गोविन्द क्षेत्री पक्राउ पर्नुभयो । ४२ वर्षीय क्षेत्री पर्वत घर भई हाल पोखरा ८ बस्नुहुन्छ ।

केफ सेकेन्डरी स्कुलको ग१क ४७६३ नम्बरको बसका चालक पोखरा–१६ बस्ने वर्ष ४५ का सर्वजित रेग्मी र गुरुकुल विद्या सदन बोडिङ स्कुलको ग१क १९५७ नम्बरको बस चालक पर्वत घर भई पोखरा ९ बस्ने वर्ष ४७ का दलबहादुर सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।  

इमानुयल बोडिङ स्कुलको ग१क ५००८ नम्बरको बसका चालक चितवन घर भई हाल पोखरा ९ बस्ने वर्ष ४७ को मनबहादुर तामाङ र गण्डकी बोडिङ स्कुलको ग१क ६६२३ नम्बरको बसका चालक म्याग्दी घर भई हाल पोखरा–१९, लामाचौर बस्ने वर्ष ३० का रोनिश खनाललाई पनि नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो । पक्राउ परेका १० चालकलाई नै जिल्ला अदालत कास्कीबाट पाँच÷पाँच दिन म्याद थप भई अनुसन्धान जारी रहेको उहाँको भनाइ छ ।

दिनदिनै स्कुल बसका चालकले मदिरा सेवन गरी गाडी चलाएको भेटिएपछि पोखरा महानगरपालिकाले मङ्गलबारदेखि महानगरभित्रका सबै शैक्षिक संस्थाका सवारी चालकको मापसे जाँच सुरु गरेको हो । चालकको गल्तीमा सम्बन्धित शैक्षिक संस्थालाई समेत जिम्मेवार बनाइने महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

“मापसे गरेको भेटिएमा सम्बन्धित विद्यालय वा कलेजलाई पाँच हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गरिनेछ,” प्रमुख आचार्यले भन्नुभयो, “लापरबाहीको पनि सीमा हुन्छ । प्रधानाध्यापक, प्रिन्सिपलज्यूहरू गम्भीर हुनुहोला ।” बालबालिका चढ्ने गाडी मदिरा सेवन गरेका चालकले चलाएको सार्वजनिक भएपछि अभिभावकहरु भने चिन्तामा छन् । अभिभावकसमेत रहनुभएका

अधिकारकर्मी सुनील पाण्डे स्कुल बस मदिरा सेवन गरी चलाएको भेटिनु गम्भीर लापरवाही भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “यसले एकातिर अभिभावकलाई चिन्ता थप्छ भने अर्कातिर राज्यको अनुगमन संयन्त्र र स्कुल सञ्चालकहरुको व्यवस्थापनमा पनि प्रश्न उठाएको छ ।”