• ६ फागुन २०८२, बुधबार

बालविवाहमुक्त नेपाल बनाउन हातेमालो

blog

गोरखापत्र समाचारदाता

ललितपुर, फागुन ६ गते । ‘बालविवाहमुक्त नेपाल : सयदिने राष्ट्रिय अभियान’ मा ८९ वटा स्थानीय तहका ८४ हजार ९९६ व्यक्ति, समुदायमाझ पुगेर बालविवाहविरुद्ध जनचेतना फैलाइएको छ । 

राष्ट्रिय बालअधिकार परिषद्द्वारा मङ्गलबार यहाँ आयोजित कार्यक्रममा ‘राइट फर चिल्ड्रेन’ ले परिषद्सँगको सहकार्यमा सात प्रदेशमा सञ्चालन भएको १०० दिने बालविवाहमुक्त अभियानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिइएको हो । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले  कार्यक्रमलाई सम्बोधन गर्दै बालविवाह उन्मूलन भए मात्र महिला सशक्तीकरण मजबुत हुने विचार व्यक्त गर्नुभयो । उहाँले दिगो विकास लक्ष्य अनुसार सन् २०३० सम्ममा बालविवाहमुक्त राष्ट्र बनाउनुपर्ने उद्देश्य पूरा गर्न यस्ता अभियानले सहयोग पु¥याउने विचार व्यक्त गर्दै नेपाली समाजबाट बालविवाहको अन्त्य गर्न सबै सरोकारवालाको सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो । 

राइट फर चिल्ड्रेनका कार्यकारी निर्देशक सुधुर मल्लले सो संस्थाले बालबिवाहमुक्त विश्वका लागि संसारका एक सय देशमा एकै पटक सयदिने कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै त्यसमध्ये नेपाल पनि एक राष्ट्र भएको जानकारी दिनुभयो ।  

राष्ट्रिय बालअधिकार परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले भन्नुभयो, “परिषद्ले बालअधिकार प्रवर्धनका लागि गर्ने काममध्ये बालविवाह उन्मूलन पनि प्रमुख विषयका रूपमा छ । राइट फर चिल्ड्रेनसँग सहकार्य गर्दै सातै प्रदेशमा सयदिने अभियान सञ्चालन गर्न अन्य विभिन्न बाल अधिकारका सवालमा काम गरिरहेका सङ्घ संस्थासँग समन्वय गरिएको हो । यस अभियानलाई निरन्तरता दिन आवश्यक छ ।”

अभियानका संयोजक गोविन्द खनालले बालविवाहले किशोरीको शिक्षा, रोजगारी, पेसा व्यवसाय र स्वास्थ्यलगायत सम्पूर्ण जीवन नै बर्बाद पारेको थुपै्र उदाहरण हाम्रो समाजमा छन्, त्यसलाई नदेखे झैँ नगरी बालविवाह रोक्ने सवालमा हातेमालो गरौँ भन्नुभयो ।  

बारा, कलैया उपमहानगरपालिका–२ निवासी दीपिका मण्डलले बालविवाह हुनबाट जोगिएको यथार्थ कथा सुनाउँदै भन्नुभयो, “मलाई १६ वर्षकी हुँदा घरपरिवारले विवाह गरिदिन लागे । यो कुरालाई बालविवाहविरुद्धका अभियानकर्मीलाई सुनाउँदा बिहे रोकिएर अहिले स्नातक तेस्रो वर्षसम्मको पढाइलाई समेत निरन्तरता दिँदै जागिरसमेत गरेर घरपरिवारलाई आर्थिक सहयोग गर्न सक्ने भएकी छु ।”