सुधा देव
भारदह (सप्तरी), फागुन ४ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका ३५ वर्षीय देवचन्द्र मुखिया वैदेशिक रोजगारीबाट फर्केकै दिन लुटपाट तथा ज्यान मार्ने प्रयासमा गम्भीर घाइते भएपछि दाहिने हात र खुट्टा काट्नुपरेको छ ।
वैदेशिक रोजगारीका लागि साउदी अरबमा कार्यरत मुखिया ७० दिनको बिदामा माघ १२ गते नेपाल फर्कनुभएको थियो । सोही दिन घर जाने क्रममा योजनाबद्ध रूपमा भएको आक्रमणका कारण उहाँको दाहिने हात र खुट्टा गम्भीर रूपमा क्षतिग्रस्त भएपछि चिकित्सकले काट्न बाध्य भएको बताउनुभयो ।
“विदेशबाट कमाएर सुरक्षित रूपमा देश फर्किएँ, तर आफ्नै देशमा लोभी र अपराधीहरूले परिवारको एक्लो कमाउने व्यक्तिलाई जिउँदो लासजस्तै बनाइदिए,” उहाँले पीडा सुनाउँदै भन्नुभयो ।
गत माघ १२ गते बिहान ८ः३० बजे काठमाडौँ आइपुग्नुभएका मुखिया बिहान १० बजे घर फर्कन हायस गाडी चढ्नुभएको थियो । लहानमा झारेर अर्को सवारी मिलाइदिने भन्दै चालक पक्षले उहाँलाई राति लहानस्थित आँखा अस्पताल नजिक झारिदिएको उहाँको भनाइ छ ।
त्यहाँबाट एक व्यक्ति र वृद्ध महिलासँग टेम्पोमा राजविराजतर्फ जाँदै गर्दा चालकले सिरहाको भगवानपुर–महेश्वरी क्षेत्रमा धक्का दिई लडाएपछि टेम्पोको चक्का दाहिने हात र खुट्टामाथि चलाएको उहाँले बताउनुभयो । करिब १५–२० मिनेटपछि होस आएपछि आफू गम्भीर अवस्थामा रहेको र घटनास्थलमा कोही पनि नभएको उहाँले स्मरण गर्नुभयो ।
प्रहरीले उद्धार गरी उपचारका लागि अस्पताल पु¥याएपछि थप उपचारका लागि विराटनगरस्थित अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकको प्रयास असफल भएपछि घटनाको तेस्रो दिन उहाँको हात र खुट्टा काट्नुपरेको थियो । हालसम्म उपचारमा करिब आठ लाख रुपियाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।
घटनापछि सिरहा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइएको र घटनामा संलग्न एक वृद्ध महिला पक्राउ परेकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाले वैदेशिक रोजगारीमा जाने तथा फर्किने श्रमिकहरूको सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको भन्दै सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरूले माग गरेका छन् ।
मुखिया विगत ६ वर्ष मलेसिया र पछिल्ला चार वर्षदेखि साउदी अरबमा काम गर्दै परिवारको जीविकोपार्जन गर्दै आउनुभएको थियो ।