काठमाडौँ, फागुन ४ गते । तारकेश्वर नगरपालिका–९, मनमैँजुस्थित हिमरश्मि हाइस्कुलमा अध्ययनरत तीन विद्यार्थीको बालकथा पुस्तक सार्वजनिक गरिएको छ । विद्यालयको २५ औँ अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा प्रा. श्यामकृष्ण विष्टले पुस्तक सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा सुजाता आचार्य (कक्षा ८) को ‘बोल्ने पुस्तक’, आयुष खत्री (कक्षा ७) को ‘मङ्गल ग्रहमा कबड्डी’ र सारिका थापा (कक्षा १०) को ‘पुतलीको चिहान’ पुस्तक सार्वजनिक गरिएको हो । विद्यालयमा आयोजित बालकथा लेखन कार्यशालामा सहभागी भई छनोट भएका विद्यार्थीको बालकथासङ्ग्रह प्रकाशन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. श्यामकृष्ण विष्टले बालसाहित्य लेखन र अध्ययनका माध्यमबाट बालबालिकाको बृहत्तर विकासमा सहयोग पुग्ने बताउनुभयो । उहाँले बालबालिकाले पाठ्यक्रमसँगै बालसाहित्य र व्यक्तित्व विकासका पुस्तक अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।