• ३ फागुन २०८२, आइतबार

हतियार खोज्दै बर्दियामा प्रहरी

blog

गुलरिया समाचारदाता

गुलरिया (बर्दिया), फागुन ३ गते  । दर्ता भएका हातहतियार खोज्नका लागि बर्दियास्थित प्रहरी घर घरमा जाने भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाले दर्ता भएका हातहतियार बुझाउन सूचना प्रकाशन गरे पनि नबुझाएका कारण प्रहरी स्वयम् घर घरमा हातहतियार खोज्न जानु परेको हो । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले एक सूचना सार्वजनिक गर्दै माघ मसान्तसम्म दर्ता तथा नवीकरण भएका हातहतियार सम्बन्धित प्रहरी कार्यालयमा बुझाउनका लागि सूचना जारी गरेको थियो तर माघ मसान्तसम्म जिल्लाभरिका १२ जनाले मात्र हातहतियार प्रहरीसमक्ष बुझाएका छन् । 

हाल हतियार बुझाउनका लागि प्रहरीले जसको नाममा हतियार छ, निजलाई सम्पर्क गरी हतियार बुझाउन अनुरोध गरिरहेको छ । प्रशासनका आग्रहमा पनि हतियार नबुझाएमा प्रहरी आफैँ गएर हतियार जफत गरी ल्याउने प्रहरीले जनाएको छ । 

बर्दियामा आगामी २०८४ सालसम्मका लागि ७५ जनाले दर्ता भएका हतियार नवीकरण गरेका छन् । बर्दियामा एक हजार १३९ वटा हतियार दर्ता भएको तथ्याङ्क छ । जसमध्ये १७७ वटा हतियार विगतको सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही पक्षले लुटेर लगेका थिए । 

नवीकरण गरेका हतियारसमेत प्रशासनमा नबुझाएपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेर हतियार खोज्न निर्देशन दिएको छ । प्रशासनले हतियार खोज्नका लागि हतियार दर्ता गर्नेको नाम, थर र विवरणसहित पत्र लेखेको छ । त्यसै गरी हतियार खोज्नका लागि नगरपालिका र गाउँपालिकालाई आवश्यक सहयोग गर्नसमेत अनुरोध गरेको छ । 

हतियार खोज्नका लागि प्रहरीलाई नाम फोन नम्बरसहितको विवरणसहित पत्र पठाइएको प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताउनुभयो । उहाँले निर्वाचनमा शान्तिसुरक्षा कायम राख्न र निर्वाचन स्वतन्त्र, भयरहित, निष्पक्ष बनाउनका लागि जनतासमक्ष भएका हतियार खोजबिन गरिएको बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सरोज पौडेलले हाल प्रहरीले हातहतियारको विवरण भएका व्यक्तिलाई फोन गरेर तत्काल बुझाउन अनुरोध गरिरहेको बताउनुभयो । केही दिनभित्र बुझाउन ल्याएमा भर्पाई गरेर राख्ने बताउँदै बुझाउन नल्याई अटेर गरेमा घर घरमा गएर हतियार जफत गरिने उहाँले बताउनुभयो ।