पोखरा समाचारदाता
पोखरा, फागुन ३ गते । आन्तरिक राजस्व कार्यालय पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ८२ प्रतिशत राजस्व प्रगति हासिल गरेको छ । कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार कुल तीन अर्ब ५७ करोड ३२ लाख ९८ हजार रुपियाँ लक्ष्य रहेकामा दुई अर्ब ९४ करोड ९० लाख ३८ हजार रुपियाँ राजस्व सङ्कलन भएको हो । प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले माघमा लक्ष्य अनुसारकै राजस्व सङ्कलन भएको जानकारी दिनुभयो ।
गत आव २०८१/८२ को सोही अवधिमा दुई अर्ब ७१ करोड ८३ लाख एक हजार रुपियाँ राजस्व असुली भएको कार्यालयले जनाएको छ । चालु वर्षको समीक्षा अवधिमा अघिल्लो वर्षको तुलनामा करिब आठ प्रतिशतले असुली बढेको हो । जेनजी आन्दोलनका कारण कार्यालय व्यवस्थापनमा कठिनाइ भए पनि सो कार्यालयले राजस्व सङ्कलनलाई तीव्रता दिएको हो ।
कार्यालयका अनुसार आयकरतर्फ दुई अर्ब ५४ करोड १८ लाख ४० हजार रुपियाँ लक्ष्य रहेकामा एक अर्ब ९२ करोड ३१ लाख ८६ हजार रुपियाँ सङ्कलन भएको छ । गत वर्ष सोही अवधिमा एक अर्ब ८३ करोड ७३ लाख ४५ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । मूल्य अभिवृद्धि करतर्फ ९१ करोड नौ हजार एक हजार रुपियाँ लक्ष्य रहेकामा ८४ करोड ४० लाख पाँच हजार रुपियाँ सङ्कलन भई ९३ प्रतिशत प्रगति हासिल भएको छ । अन्तःशुल्कतर्फ १२ करोड दुई लाख ३६ हजार रुपियाँ लक्ष्य रहेकामा ११ करोड ५८ लाख ११ हजार रुपियाँ असुली भई ९६ प्रतिशत प्रगति भएको कार्यालयले जनाएको छ ।
पुस मसान्तसम्म आयकरतर्फ ७१ हजार ९५० करदाता आबद्ध छन् । मूल्य अभिवृद्धि कर (मुअकर) मा १२ हजार ५७५ र अन्तःशुल्कतर्फ चार हजार ७४३ करदाता आबद्ध रहेको कार्यालयले जनाएको छ । त्यस्तै दुई लाख २३ हजार ३११ जनाले व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिएका छन् भने इटिडिएस प्रयोजनका लागि ५७२ करदाताले विथहोल्डिङ स्थायी लेखा नम्बर लिएका छन् ।
आर्थिक ऐन, २०८२ को दफा २५ को उपदफा (१) र (२) बमोजिम ११४ करदाताले छुट सुविधा लिएका छन् । बक्यौता कर सङ्कलनलाई प्राथमिकतामा राख्दै कार्यालयले टेलिफोन, बल्क एसएमएस तथा सङ्कलन भ्रमणमार्फत करदातासँग सम्पर्क गरिरहेको जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका सामग्रीको लिलामी प्रक्रियासमेत सम्पन्न गरिएको कार्यालयले जनाएको छ । समग्रमा लक्ष्य अनुसार शतप्रतिशत प्रगति नभए पनि अघिल्लो वर्षको तुलनामा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको जनाउँदै बक्यौता असुली तथा करदाता सम्पर्क कार्यक्रमलाई प्रभावकारी बनाई राजस्व वृद्धिमा जोड दिइएको कार्यालयले जनाएको छ ।