• ३ फागुन २०८२, आइतबार

भूमिहीनका लागि चुनावी आश्वासन ‘लालपुर्जा’

blog

मकवानपुरगढी समाचारदाता

मकवानपुरगढी, फागुन ३ गते । हेटौँडा उपमहानगरपालिकाको ११ नम्बर वडामा पर्ने सिमलटार बस्तीका बासिन्दा बर्सौंदेखि भूमिहीन छन् । यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) हुने गरेको छ । पछिल्लो एक पुस्ता यही आश्वासन पूरा हुने पर्खाइमा छन् त कति पुर्जा पाउने आसैआसमा बितिसके । अब उनका छोरा र नातिलाई फेरि यही समस्याले पिरोल्न छाडेको छैन । गाउँमा पक्की बाटो पुग्यो । खानेपानी, बिजुली, ढलको व्यवस्था छ तर समस्या एउटै रह्यो ‘हातमा जग्गाधनी लालपुर्जा कहिले आउँछ ?’ यहाँका तीन हजारभन्दा बढी परिवार यही समस्यासँग बर्सौंदेखि जुधिरहेका छन् । 

देश यतिबेला निर्वाचनमय बनेको छ । उम्मेदवार आआफ्नो क्षेत्रका मतदाता रिझाउन व्यस्त छन् । यस्तै प्रतिनिधि सभा मकवानपुर क्षेत्र नम्बर २ का नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौला गत शनिबार उहाँ यही सुकुमवासी बस्तीमा चुनावी प्रतिबद्धता बोकेर पुग्नुभयो । कार्यक्रममा सहभागी भूमि अधिकार मञ्च मकवानपुरले भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका समस्या समाधानमा पहल गर्न चारबुँदे सुझावपत्र बर्तौलालाई बुझायो । 

सुझावपत्रमा संविधानबमोजिम भूमिहीनका लागि खाद्यान्न, आवास र अधिकारको सुनिश्चित गरी मापदण्ड अनुसार खेतीयोग्य जमिन उपलब्ध गराउनुपर्ने माग समेटिएको छ । त्यसो त निवर्तमान सांसद बर्तौलाले संसद्मा पटक पटक यहाँका समस्याका बारेमा कुरा नउठाउनुभएको भने होइन । ध्यानाकर्षणपत्र बुझ्दै उहाँले आफूलाई निर्वाचित भएमा ठोस पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू संसद् छिर्नेबित्तिकै सबैभन्दा पहिलो प्राथमिकतामा भूमिहीन सुकुमवासी र दलितको आवाज राखेको उहाँले बताउनुभयो । “मैले पटक पटक संसद्मा बोलेको छु । तपाईंहरूका यिनै समस्यालाई भरिया बनेर संसद्मा खबरदारी गर्ने जिम्मा मेरो हो । समस्या समाधानका निम्ति आवश्यक भूमिका निर्वाह गर्न र संयन्त्र सव्रिmय र जिम्मेवार बनाउने मेरो जिम्मा हो,” बर्तौलाले भन्नुभयो । यता भूमि अधिकार मञ्च ११ नम्बर वडाकी अध्यक्ष लक्ष्मी विश्वकर्माले चुनावी माहोल तात्दा मात्र नेताहरू आफूहरूलाई भेट्न र आश्वासन दिन आउने गरेको बताउनुभयो । “काखे बच्चा बोकेर नगरपालिका आन्दोलनमा कति धायौँ । लालपुर्जा पाउँछौँ भनेकै बर्सौं भयो, उहाँले भन्नुभयो, “यो बस्तीमा बाटो र खानेपानीको सुविधा आयो तर हामीलाई चाहिने लालपुर्जा नै हामीसँग छैन ।”

यस्तै भूमि अधिकार आयोग मकवानपुरका अध्यक्ष बलराम बलले जिल्लामा सबैभन्दा बढी भूमिसम्बन्धी समस्या हेटौँडा–११, सिमलटारको बस्तीमा रहे पनि यहाँ लालपुर्जा वितरण धेरै झन्झटिलो बन्दै गएको बताउनुभयो । वडा र नगरपालिकाबिचको विवादले आफूसमक्ष निवेदन आउन नसकेको उहाँले उल्लेख गर्नुभयो । वडाले पहिलो चरणमा साढे पाँच सय फाराम नगरपालिकामा पु¥याए पनि नगरपालिकाले आयोगसमक्ष फाराम पेस गर्न आनाकानी गर्दा प्रक्रिया रोकिएको उहाँको भनाइ छ । 

“भूमि आयोग यहाँका सुकुमवासीलाई लालपुर्जा दिन लागिपरेको छ तर यहाँ जिम्मेवार निकायबिचको समन्वयमा फाटो आउँदा प्रक्रिया अगाडि बढ्न सकेन ।”  यहाँका भूमिहीन मतदाता सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै आएका छन् । प्रतिनिधि सभा निर्वाचन २०८२ मा पनि यस्तै आश्वासन आउने गरेको उनीहरूको गुनासो रहेको छ ।