गोरखापत्र समाचारदाता
ललितपुर, फागुन ३ गते । नेपाली कांग्रेसले नागरिक र मतदातामाझ सभ्य, सुसंस्कृत र सन्तुलित शैलीलाई केन्द्रमा राखेर निर्वाचन प्रचारप्रसार गरिरहेको प्रस्ट पारेको छ । प्रवक्ता देवराज चालिसेले शनिबार विज्ञप्तिमार्फत चरम प्रियतावादबाट वशीभूत भएर शान्तिप्रिय जनताको मन भाँड्ने कार्य कांग्रेसबाट सम्भव नभएको प्रस्ट पार्नुभएको हो ।
उहाँले आमसञ्चार, विद्युतीय र डिजिटल सञ्चारका कुनै पनि प्लेटफर्ममा कांग्रेसको उपस्थिति तर्क, विवेक र सम्मानबाट निर्दिष्ट रहने बताउनुभएको छ । उहाँले निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति उच्च सम्मान रहेको तर यसको कार्यान्वयनमा कतिपय दल र तिनका समर्थकबाट भइरहेका खुला उल्लङ्घनका घटनालाई सप्रमाण ध्यानाकर्षण गराएको बताउनुभएको छ ।
प्रवक्ता चालिसेले निर्वाचन आचारसंहितालाई निःसर्त र अविच्छिन्न रूपमा पालना गर्न कांग्रेस प्रतिबद्ध रहेको र निर्वाचन अघिपछि सधैँ यही समाजमा जीवननिर्वाह गर्नुपर्ने हामीमाझ कुनै पनि किसिमका अशोभनीय, अराजक र अवाञ्छित व्यवहार देखाउने छुट कसैलाई नदिएको बताउनुभएको छ ।
उहाँले भन्नुभएको छ, “विशेष महाधिवेशनको पृष्ठभूमिलगायत कारणले पार्टीको नेतृत्व र ग्रासरुटमा कुनै अलमल, असहयोग वा गुनासोको अवस्था छ कि भन्ने प्रश्नमा हामी प्रस्ट पार्न चाहन्छौँ कि कांगे्रस निर्वाचनसँगै आन्तरिक एकताका सवालमा निरन्तर सुदृढ बन्दै गइरहेको छ । सबैले निर्वाचनको महत्व र सान्दर्भिकतालाई हृदयाङ्गम गरेको परिप्रेक्ष्यमा निवर्तमान पदाधिकारी तथा वरिष्ठ नेतागण क्षेत्र क्षेत्रमा गई सहयोग र निर्देशन दिने कार्यमा क्रियाशील हुनुहुन्छ ।”