गोरखापत्र समाचारदाता
विदुर (नुवाकोट), फागुन ३ गते । आमसञ्चारका माध्यमबाट नागरिकले सही सूचना र जानकारी अपेक्षा गरे पनि समकालीन मिडिया अभ्यास अलि फरक रहेको अनुभव व्यक्त गरिएको छ । नागरिकले आफू सरोकारको सामग्री मिडियामा खोज्ने तर त्यस्तो सामग्री कमै मात्र पाइने गरेकाले जिम्मेवार पत्रकारिताको माध्यमबाट मात्र नागरिकको अपेक्षा पूरा हुन सक्ने निष्कर्ष निकालिएको छ ।
सम्पादक समाज नेपालद्वारा शनिबार यहाँ आयोजित नागरिकको अपेक्षा : जिम्मेवार पत्रकारिता विषयमा नागरिकसँग गरिएको विमर्श कार्यक्रमका सहभागीले समाचारका विषयवस्तुमा नेता वा पदमा बस्नेको एकतर्फी भनाइ मात्र बढी आउने गरेको तर नागरिकका चाहना र आवश्यकतालाई बेवास्ता गरेको अनुभव व्यक्त गरेका थिए । उनीहरूले फागनु २१ को प्रतिनिधि सभाका निर्वाचनमा मतदाताको चाहना, आवश्यकता र कार्यसूचीलाई सञ्चार माध्यमको सामग्री बनाउन पनि सुझाव दिए ।
वरिष्ठ पत्रकार तोया गौतमले प्रस्तुत गर्नुभएको जिम्मेवार पत्रकारितासम्बन्धी कार्यपत्रमा सहभागीले छलफल गर्दै नागरिकको मुद्दालाई पत्रकारिताले पहिलो प्राथमिकता दिनुपर्ने औँल्याए । कार्यपत्रले डिजिटल प्रविधिको विकास र विस्तारले सिर्जना गरेको समकालीन चुनौतीको विस्तृत विवेचना गर्दै मूलधारका मिडियाअगावै सामाजिक सञ्जालले दिएको जानकारीमा नागरिक भर पर्नुपर्ने अवस्था आएकोप्रति गम्भीर हुनुपर्ने बताइयो ।
गोरखापत्र दैनिकका निमित्त प्रधान सम्पादक तथा सम्पादक समाजका उपाध्यक्ष जुनारबाबु बस्नेतले कार्यपत्रमाथि टिप्पणीका क्रममा सामाजिक सञ्जालको अपरिष्कृत सूचना र जानकारीबाट समाजमा परिरहेको आयामिक दुष्प्रभावको विवेचना गर्दै मूलधारको मिडियाले विश्वास जगाउन जिम्मेवार पत्रकारितालाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
आसन्न निर्वाचनमा मतदाता, समाज र देशको कार्यसूचीलाई प्राथमिकता दिने दल तथा उम्मेदवार निर्वाचित हुन सक्ने वातावरणका निम्ति मिडिया सामग्रीले प्राथमिकता पाउँदा जिम्मेवार पत्रकारिता प्रवर्धन हुन सक्ने उहाँको सुझाव थियो । कार्यक्रममा विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले सम्पादक समाजले कतिपय गैरजिम्मेवार समाचारले आफू र नगर नै पीडितसमेत भएकाले जिम्मेवार पत्रकारिता प्रवर्धन आवश्यक रहेको महसुस गरेको बताउनुभयो ।
सम्पादक समाज नेपालका संरक्षक किरण वैद्यले एसएलसी दिएको भोलिपल्टबाट आफूले चार दशकअघि नै पत्रकारिताको अभ्यास थालेको अनुभव सुनाउँदै हिजोआज मिडियाको सङ्ख्या असाध्यै बढे पनि भाषा, विषयवस्तु, सत्यतथ्य र गुणस्तरलगायतका कारण नागरिक भने अलमलमा परेको बताउनुभयो । सम्पादक समाजका अध्यक्ष पुरु रिसालले सम्पादक समाजले पत्रकार र पत्रकारिताको गुणस्तर सुधार गर्दै अगाडि बढ्ने लक्ष्यका साथ नागरिक तहमा संवाद गरिरहेको बताउनुभयो । महासचिव श्यामकाजी डोटेलले समाज परिवर्तनको आधार नै जिम्मेवार पत्रकारिता भएको बताउनुभयो ।
कार्यक्रमका संयोजक धु्रव रावलले कपिपेस्ट पत्रकारितासमेत बढिरहेकाले नागरिकको अपेक्षा पूरा गर्न पत्रकारिताका गुणस्तर विकास अपरिहार्य भएको बताउनुभएको छ ।