• २ फागुन २०८२, शनिबार

नेपाल र भारतका साहित्यकार सम्मानित

blog

महोत्सवमा गोरखापत्रकर्मी खानलाई सम्मान गरिँदै ।

नेपालगन्ज, फागुन २ गते । पर्यटन प्रवर्द्धनका साथै स्थानीय कला, संस्कृति र साहित्यको संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको 'जानकी पर्यटन प्रवर्द्धन तथा प्रथम साहित्यिक महोत्सव २०८२' मा गोरखापत्रका नेपालगन्ज समाचारदाता सिराज खानसहित नेपाल र भारतका साहित्यकार सम्मानित हुनुभएको छ । शनिबार बाँकेको जानकी गाउँपालिकामा आयोजित महोत्सवमा पत्रकार र साहित्यकारलाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जानकी गाउँपालिकाका उपाध्यक्ष रामप्यारी यादव, प्रा.डा. कृष्णप्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्य सचिव सनतकुमार रेग्मी र प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल लगायतले उहाँहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो ।

सम्मानित हुनेमा गोरखापत्रकर्मी खान, पत्रकार झलक गैरे, वरिष्ठ कलाकार प्रेमदेव गिरी, वरिष्ठ नाटककार गणेश गौतम, वरिष्ठ साहित्यकार बच्छराज यादव र कलाकार खगेन्द्र नेपाल रहनुभएको छ । यसैगरी भारतका वरिष्ठ साहित्यकारहरू डा. रामबहादुर मिश्र, प्रदीप साहनी, अतिक कासगन्जवी, शारिक रब्बानी, रईस बहराइची, बम्पर बहराइची र पिके प्रचण्डलाई पनि सम्मान गरिएको छ ।

जानकी गाउँपालिका र भेरी साहित्य समाज केन्द्रीय समितिको आयोजनामा सम्पन्न महोत्सवमा नेपाल र भारतका सय जनाभन्दा बढी पर्यटन व्यवसायी, साहित्यकार तथा पत्रकारको सहभागिता थियो । महोत्सवमा सांस्कृतिक कार्यक्रम, स्रष्टा सम्मान, मुसायरा र कवि सम्मेलनका साथै पर्यटन प्रवर्द्धनको वर्तमान अवस्था र सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरिएको भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो ।

'जानकी पर्यटन प्रवर्द्धनः वर्तमान अवस्था र सम्भावना' विषयमा वरिष्ठ साहित्यकार डा. राजकुमार थारु र ईश्वरीप्रसाद रिजालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने पर्यटन व्यवसायी श्रीराम सिग्देलले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकारहरू अब्दुल लतिफ शौक, डा. हरि तिमिल्सिना, नरेन्द्रजङ्ग पिटर, डा. गोपालप्रसाद अधिकारी, विष्णुलाल कुम्हाल, डा. इन्द्र भण्डारी, कल्पना पौडेल, सुन्दर गुरुङ, खगेन्द्र गिरी कोपिला, भरत रानाभाट, डा. पुष्कर रिजाल र मणिरत्न लगायतको उपस्थिति थियो ।