काठमाडौँ, फागुन २ गते । १७औँ राष्ट्रिय बाल नाटक महोत्सव सम्पन्न भएको छ । शैली थिएटर, रूसी सदन र ओजस थिएटरको आयोजनामा एक सातासम्म सञ्चालन भएको महोत्सवको शनिबार समापन गरिएको हो ।
महोत्सवमा प्रस्तुत गरिएका १८ वटा नाटकमध्येबाट उत्कृष्ट नाटक र कलाकार छनोट गरी पुरस्कृत गरिएको छ । मृगशिरा वर्ल्ड स्कुलको नाटक ‘सेतो जुत्ता’ बाट आदित्य श्रेष्ठले ‘जुरी अवार्ड’ प्राप्त गर्नुभएको छ भने मेधाश्री स्कुलको नाटक ‘यशस्वी भव’ बाट शोभित तामाङले ‘उदीयमान अभिनेता’ को अवार्ड हात पार्नुभयो ।
त्यस्तै माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीको नाटक ‘श्रवण भर्सेस कुमार’ बाट निस्ता धिमालले ‘उत्कृष्ट अभिनेत्री’ र सोही नाटकबाट जीवन बरालले ‘उत्कृष्ट निर्देशक’ अवार्ड प्राप्त गर्नुभयो । रेडस्टार सेकेन्डरी स्कुलको नाटक ‘रात चिर्ने भानु’ बाट काव्या बरालले ‘उत्कृष्ट अभिनेता’ को अवार्ड प्राप्त गर्नुभयो ।
समूहतर्फ महेन्द्र आदर्श माध्यमिक विद्यालयको नाटक ‘हामी एउटै हौँ’ लाई ‘उदीयमान नाटक’ (इमर्जिङ प्ले) को उपाधि प्रदान गरियो । प्रतियोगितामा मृगशिरा वर्ल्ड स्कुलको ‘सेतो जुत्ता’ दोस्रो (सेकेन्ड रनर अप) र मेधाश्री स्कुलको ‘यशस्वी भव’ पहिलो (फस्ट रनर अप) घोषित भए । मकालु मोरङको ‘कमिला र फट्याङ्ग्रा’ ले ‘उत्कृष्ट नाटक’ (बेस्ट प्ले) को अवार्ड प्राप्त गर्यो ।
विजेताहरूलाई नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । महोत्सवको निर्णायक मण्डलमा आशान्त शर्मा र केदार श्रेष्ठ रहनुभएको थियो ।