• २ फागुन २०८२, शनिबार

विपन्न परिवारलाई किरिया खर्च

blog

काजकिरिया खर्चसहित श्रद्धाञ्जलीपत्र हस्तान्तरण गरिँदै । तस्बिर : अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, फागुन २ गते ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले आर्थिक समस्या झेल्दै आएका विपन्न परिवारलाई किरिया खर्च उपलब्ध गराएको छ । पालिकाले गत आर्थिक वर्षबाट प्रतिपरिवार २० हजार रुपियाँका दरले सहयोग प्रदान गर्दै आएको हो ।

पालिकाले गत वर्ष एक सय ९५ परिवारलाई किरिया खर्च बापत रकम उपलब्ध गराएको थियो । चालु आर्थिक वर्षमा एक सय ८० परिवारलाई काजकिरिया खर्चबापत ३६ लाख रुपियाँ उपलब्ध गराइसकिएको गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले जानकारी दिनुभयो । “चालु आवमा किरिया खर्चबापत ४० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ, उक्त रकम अपुग भए बजेट थप गर्न सकिने व्यवस्था मिलाएका छौँ,” गाउँपालिका अध्यक्ष कालाखेतीले भन्नुभयो ।

जनप्रतिनिधिले घरमै पुगेर आर्थिक सहयोगसँगै मृत्यु दर्ताको कागजसमेत हस्तान्तरण गर्ने गर्नुभएको छ । गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरी मृतकको घरमै पुगेर काजकिरिया गर्नका लागि पालिकाले रकम उपलब्ध गराउने घोषणा गरेको गाउँपालिका अध्यक्ष कालाखेतीले बताउनुभयो । “वडाका केही परिवारहरू यस्ता छन्, जसले काजकिरिया गर्न पनि कठिनाइ बेहोर्नुपर्छ । त्यस्ता अवस्थामा राहतस्वरूप पालिकाले यो कार्य गर्दै आएको हो,” अध्यक्ष कालाखेतीले भन्नुभयो ।

वडा कार्यालयबाट मृत्युदर्तासहित विपन्नको सिफारिस गरेपछि गाउँपालिका कार्यालयले काजकिरिया गर्न प्रतिपरिवार २० हजार रुपैयाँ नगद उपलब्ध गराउने गरेको छ । आर्थिक अभावले किरिया रोकिने अवस्था नआओस् भनेर खर्च दिने गरेको पालिकाले जनाएको छ । गाउँपालिकाले मृतकका परिवारलाई किरिया खर्च उपलब्ध गराउन थालेपछि विपन्न परिवारले राहत महसुस गर्नुभएको छ ।

परिवारका सदस्यको मृत्युपछि काज किरिया उम्काउन समस्या हुने परिवारलाई खर्चले राहत भएको हो । सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गाउँपालिकाले शोकमा परेका परिवारलाई निरन्तर सहयोग गर्दै आएको छ । यस कार्यक्रमले विपन्न र दुःखद अवस्थामा परेका परिवारहरूबीच सामाजिक न्याय र सहकार्यको भावना बलियो बनाउने अपेक्षा गरिएको छ ।