जयकृष्ण यादव
इनरुवा, फागुन २ गते । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुनसरीमा मतदान स्थलहरूको निरीक्षण कार्य तीव्र पारिएको छ।
जिल्ला सुरक्षा समिति र मुख्य निर्वाचन अधिकृतको कार्यालयको तर्फबाट मतदान स्थलहरूको निरीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिनुभयो। सुरक्षाको दृष्टिकोणले सामान्य, संवेदनशील र अतिसंवेदनशील सूचीमा रहेका मतदान स्थलहरूको स्थलगत अनुगमन भइरहेको उहाँले बताउनुभयो।
शनिबार मात्रै रामधुनीका मतदान स्थललाई प्राथमिकतामा राखेर निरीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो। निरीक्षणका क्रममा मतदान स्थलको अवस्था, सुरक्षा व्यवस्था तथा भौतिक पूर्वाधारको अवलोकन गर्नुका साथै स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा तथा सरोकारवालासँग छलफल गर्ने गरिएको छ।
निर्वाचनमा खटिने कर्मचारीको आवास व्यवस्था, विद्युत्, खानेपानी लगायत आधारभूत सुविधाको अवस्थाबारे पनि मूल्याङ्कन भइरहेको बताइएको छ।
जिल्लामा १६७ मतदान स्थलमा ६२४ मतदान केन्द्र रहेका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार १२ स्थानीय तह रहेको सुनसरीमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी गरी कुल पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन्।
जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलका अनुसार सबैभन्दा बढी मतदाता निर्वाचन क्षेत्र नं. २ मा एक लाख ५६ हजार ९९० रहेका छन् भने सबैभन्दा कम मतदाता रहेको क्षेत्रमा एक लाख ३४ हजार ३०२ जना कायम भएका छन्।