फूलबारी समाचारदाता
फूलबारी (कैलाली), फागुन २ गते । सुदूरपश्चिमका राजनीतिक दलले बालबालिकालाई चुनावी प्रचारप्रसारमा प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन् । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा चुनावको प्रचारप्रसारका लागि प्रयोग भइरहेकाबारे शुव्रmबार सरोकारवालाबिच भएको छलफलमा सो प्रतिबद्धता जनाएका हुन् ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका मानव अधिकार अधिकृत विदेशराम चौधरीले वर्तमान अवस्थामा बालबालिकाको अधिकार र बढ्दो प्रयोगका विषयमा प्रस्तुत गर्दै आचारसहिंताका बारेमा स्मरण गराउनुभएको थियो । कार्यव्रmमका सहभागीले बालअधिकार संरक्षण र बालबालिकाप्रति हुने सबै प्रकारका राजनीतिक प्रयोग नगर्ने प्रतिबद्धतासहित संयुक्त रूपमा घोषणापत्र जारी गरेका हुन् ।
‘बालबालिका र विद्यालय शक्ति होइनन्’ भन्ने मूल नाराका साथ जारी गरिएको प्रतिबद्धतापत्रमा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने, बालबालिकालाई चुनावी प्रचारप्रसार, जुलुस, पोस्टर टाँस तथा राजनीतिक गतिविधिमा प्रयोग नगर्ने उल्लेख छ । यसै गरी विद्यालय परिसरभित्र कुनै पनि राजनीतिक दलका कार्यव्रmम सञ्चालन नगर्ने, बालबालिकालाई राजनीतिक आवाजका आधारमा विभाजन नगर्ने तथा उनीहरूमाथि हुने शारीरिक, मानसिक, भावनात्मक हिंसा, यौन दुर्घटना, शोषण र भेदभाव जस्ता कार्यलाई नागरिक अपराध मान्ने सहमति भएको सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीका कार्यकारी निर्देशक हेमराज जोशीले बताउनुभयो ।
प्रतिबद्धतापत्रमा बालबालिकाको सर्वत्तोमुखी सम्मान, सामाजिक समावेशीकरण, गुणस्तरीय शिक्षा, अर्थपूर्ण सहभागिता र सुरक्षा सुनिश्चित गर्न आवश्यक नीति, कानुन निर्माण तथा बजेट विनियोजनका लागि प्रदेश र सङ्घीय सरकारसमक्ष पहल गर्ने पनि उल्लेख गरिएको छ । सो प्रतिबद्धतापत्रमा नेपाली कांग्रेस केन्द्रीय सदस्य निपा चोलाख, नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य राजेश खाती, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रेम विश्वकर्मा, स्वतन्त्र पार्टीका धनगढी नगर सभापति तुलाराम खनाललगायतका नेताले हस्ताक्षर गर्नुभएको थियो ।