• २ फागुन २०८२, शनिबार

लेकको हिउँ सफा गर्न माग

blog

न्यालुलेकमा परेको हिउँले पुरिएको सडक ।

राजन रावत 

हुम्ला, फागुन २ गते  । नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीन गाउँलेले न्यालुलेकमा जमेको हिउँ फाल्न माग गरेका छन् । हिउँ नफालिए आगामी फागुन २१ गते हुने निर्वाचनको सबै प्रव्रिmया अवरुद्ध हुने भएपछि लिमीका तीन गाउँवासीका तर्फबाट वडा कार्यालयले एक सार्वजनिक सूचना जारी गरी सो आग्रह गरेका हुन् । 

लिमी जाने पाँच हजार दुई सय मिटर उचाइको न्यालु नाकाको सडकमा हिउँ जमेर यातायात बन्द हुँदा हिउँ सडकबाट फालेर यातायातसेवा नियमित गर्नुपर्ने लिमीका स्थानीय कुन्जोक तामाङले बताउनुभयो । उहाँँले आफ्नो गाउँ जाङ्गलमा हाल मतदाता मात्रै नभई मानिसविहीन अवस्था रहेका कारण यस पटकको निर्वाचनमा मतदान हुन कठिन देखिएकाले न्यालुको हिउँ सफा गर्न माग गर्नुभयो । यदि हिउँ नफालिए मतदानका लागि कर्मचारी र सुरक्षाकर्मी हेलिकोप्टरमा लिमी पु¥याउनुपर्ने देखिएको छ । 

लिमीवासी मतदान गर्न आतुर भए पनि गत माघ १० र १५ गते परेको हिमपातले सडक अवरुद्ध भएको उहाँको भनाइ छ । लिमीवासीको यो समस्या बुझेर न्यालुलेकको हिउँ फाल्ने व्यवस्था सरकारले गर्नुपर्ने आग्रह उहाँले गर्नुभयो । लिमीको उक्त गाउँका अधिकांश स्थानीय काठमाडौँमा बस्दै आएका छन् । जाङगाउँ अहिले करिब मानिसविहीन अवस्थामा छ । लिमीको भृकुटी प्रावि मतदान केन्द्रमा ११३ महिला र १३४ पुरुष मतदाता गरी २४७ मतदाता रहेका छन् । चैत महिनासम्म हिमपात भइरहने भएका कारण उहाँले अब फागुनको निर्वाचनमा उक्त मतदान केन्द्रमा जान न्यालुको हिउँ फालेर निर्वाचनको वातावरण बनाउनुपर्ने बताउनुभयो । 

लिमी जाने नाकामा हिमपातका कारण यातायात सेवा बन्द भएपछि मतदाता निर्वाचनमा सहभागी हुने अवस्था नदेखिएपछि लिमीवासीको तर्फबाट वडा कार्यालयले एक सार्वजनिक अनुरोध गर्दै सडकमा जमेको हिउँ फाल्न आग्रह गरेको वडाध्यक्ष पाल्जोर तामाङले बताउनुभयो । लिमीका तीन मतदान स्थलमध्ये एउटा स्थल मतदाताविहीन रहेको र अन्य दुई वटामा पनि न्यून मतदाता रहेको जानकारी उहाँले दिनुभयो । हिमशिखर प्रावि मतदान केन्द्र तिलगाउँमा ५२ जना महिला र ८० जना पुरुष मतदाता गरी १३२ जना मतदाता रहेकोमा हाल उक्त गाउँमा ४० जना मतदाता मात्र रहेको वडाध्यक्ष तामाङले बताउनुभयो । सबैभन्दा बढी मतदाता रहेको लिमीका हल्जीगाउँमा पनि हाल एक सय जना मात्र मतदाता गाउँमा बस्दै आएका छन् । गाउँ स्थायी बासिन्दासमेत रहनुभएका वडाध्यक्ष तामाङले लिमीको सुनखनी प्रावि हल्जीमा १३२ महिला र १६१ पुरुष मतदाता गरी २९३ मतदाता रहेको जानकारी दिनुभयो । लिमीका तिनै मतदान केन्द्र गरी कुल ६७२ मतदाता रहेका छन् । हालसम्मको अवस्था हेर्दा २० प्रतिशत मतदाताको मात्र निर्वाचनमा सहभागिता रहने स्थानीयको भनाइ छ । यो नाका यस वर्ष मात्र नभई सधैँ हिउँदमा हिमपातका कारण बन्द हुने गर्छ । हिमपातले नाम्खा गाउँँपालिकाको लिमी बढी प्रभावित भएको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो । यो समस्याबारे निर्वाचन आयोगलाई जानकारी गराइसकेको भन्दै उहाँले आयोगबाट आउने समाधानको निर्देशन कुरेको उल्लेख गर्नुभयो ।