बोमलाल गिरी
नवलपुर, माघ २९ गते । दुई निर्वाचन क्षेत्र रहेको नवलपुरमा उम्मेदवारहरू घरदैलोका लागि तराईबाट पहाड चढ्न थालेका छन् । भित्री मधेस र तराईसहित जिल्लाको ठुलो भूभाग पहाडी क्षेत्रमा पर्छ ।
त्यही पहाडी क्षेत्रको मतले चुनाव जित्ने आँकलन गर्दै उम्मेदवारहरूले पहाडलाई प्राथकिता दिन थालेका छन् । पहाड चढेका उम्मेदवारलाई स्थानीयले ठाउँ–ठाउँमा फूलमाला र अबिरले स्वागत गरेका छन् । सँगसँगै चुनाव जितेपछि पहाडलाई चटक्क भुल्ने गरेको भन्दै आलोचना र खबरदारी पनि गर्ने गरेका छन् ।
घरदैलोमा आएका उम्मेदवारलाई मतदाताले बाटो, पुल, सडक स्तरन्नोति, फलफूल, तरकारी र अन्य कृषि बाली प्रवर्धनका लागि सिँचाइ तथा गाउँ आयआर्जनका लागि सुठो प्रशोधन प्रविधिमा सहजीकरण गरिदिनु पर्नेजस्ता माग राखेको भारतपुरका मतदाता डोलराज रानाले बताउनुभयो ।
विभिन्न राजनैतिक दलका उम्मेदवारले बिगतदेखि नै पहाडी क्षेत्रको मतलाई आफ्नो जितको सुनिश्चित हुने आधारका रूपमा लिँदैआएका छन् । यो पटक नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले जन सङ्गठन, कांग्रेसले निरन्तर जितसहितको मजबुद जनाधारलाई जितको आधार मानेको छ । रास्वपाले गत निर्वाचनको मत परिमाणलाई सुरक्षित राख्दै युवापुस्ताको मतलाई आफ्नो जितको आधार देखेको छ ।
नेकपाले अन्य दलहरूको प्रतिस्पर्धाको भिडबाट चुनाव जित्ने आँकलन गरिरहेको बताउँछ । कतिपय उम्मेदवारले भने पार्टीले अबलम्बन गरेको नीति, सामाजिक छवि, व्यक्तित्व र विकासका एजेन्डाले जित दिलाउने बताउँदै आएका छन् ।
२०४६ सालको राजनैतिक परिवर्तनपछि यहाँ नेपाली कांग्रेसका उम्मेदवारले पहाडी मतदाताको निर्णायक मतसँगै जित हाँसिल गर्दै आएका थिए । क्षेत्र नम्बर १ बाट कांग्रेसका सूर्यभक्त अधिकारी, दामोदर बस्ताकोटी, महेन्द्रध्वज जिसी र लगातार ४ पटक बिपीपुत्र डा. शशाङ्क कोइराला प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी २ नम्बरमा बहुदलीय व्यवस्थापछि नेकपा (एमाले) का उम्मेदवारले राख्दै आएको जितको वर्चस्व दोस्रो संविधान सभामा कांग्रेसका महेन्द्रध्वज जिसी तथा गत २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विष्णु कार्कीले तोड्नुभएको थियो ।
अघिल्ला निर्वाचनमा यहाँ एमालेका मझिलाल थारू थनेत, चन्द्रमणि खराल, जीवनकुमार श्रेष्ठ, कृष्ण पौडेल, तिलबहादुर महत क्षेत्रीले यहाँबाट चुनाव जित्नुभएको थियो ।
यस्तै, यहाँको दाउन्ने पूर्वसहित पश्चिम बर्दघाटको भूगोल समेटिएको बेला ३ नम्बर क्षेत्रबाट तत्कालीन नेकपा (माओवादी) का उम्मेदवार सीता बौडेल संविधान सभा सदस्यमा नर्वाचित हुनुभएको थियो ।
विगतको निर्वाचनमा यहाँ कांग्रेस, एमाले र रास्वपाबिच मुख्य प्रतिष्पर्धा देखिएको थियो । यस पटक कांग्रेसबाट ओमबहादुर घर्ती मगर, एमालेबाट तिलबहादुर महत, नेकपाबाट गणेशमान महतो, रास्वपाबाट मनिष खनाल, श्रम संस्कृति पार्टीबाट कमल चापागाईं लगायतकका उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
त्यसैगरी क्षेत्र नम्बर १ मा कांग्रेसका बालकृष्ण घिमिरे, एमालेका भागिरथ सापकोटा, नेकपाबाट लोकप्रसाद भुर्तेल र रास्वपाबाट राजन गौतम घरदैलोमा व्यस्त हुनुहुन्छ । चुनावी मैदानमा उत्रिएका सबै उम्मेदवार मतदाता कहाँ पुगेर मत मागिरहँदा स्थानीयले भने दुबै निर्वाचन क्षेत्रमा काँग्रेस, एमाले, नेकपा र रास्वपाबिच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरेका छन् ।
उम्मेदवारले पहाडलाई मत पाउने हिसावले प्राथमिकतामा राख्दा पहाडका बासिन्दा भने विकास निर्माणमा पहाडी क्षेत्र पछि परेकाले हरेक उम्मेदवारको प्राथमिकता पहाड नै हुनुपर्ने बताउँछन् । जिल्लाको उत्तरपश्चिम पाल्पा सिमानाको राईकोटदेखि पूर्व गैँडाकोटको ढोडेनीसम्मको कालीगण्डकी उपत्यका तथा महाभारत पर्वत शृङ्खला अन्तर्गतका पहाड र बेँसीहरू नवलपुरको १ र २ नम्बर क्षेत्रमा पर्छ । त्यसैगरी २ नम्बर क्षेत्रले पहाड, मधेश र तराईको त्रिवेणीस्थित भारतीय सीमाका बस्तीसम्म छोएको छ ।