नवलपरासी, माघ २९ गते । पश्चिम नवलपरासी क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको विस्तृत ‘रिपोर्ट कार्ड’ सार्वजनिक गर्नुभएको छ । २०७९ सालको निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र कार्यान्वयनको अवस्थासहितको विवरण सार्वजनिक गर्नुभएको हो ।
जेनजी आन्दोलनपश्चात प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ मा हुन गइरहेको आम निर्वाचनको सन्दर्भमा उहाँले आफूले तीन वर्षअघि गरेका प्रतिबद्धताहरूको सार्वजनिक मूल्याङ्कन जनतामाझ राख्नुभएको छ ।
रिपोर्ट कार्ड सार्वजनिक गर्दै चौधरीले मतदाताको प्रश्न गर्ने अधिकारलाई लोकतन्त्रको मूल आधार भन्दै आफू जनताको अदालतमा जवाफदेही भएर उभिन तयार रहेको बताउनुभएको छ ।
‘‘प्रश्न सोध्न पाउनु मतदाताको अधिकार हो । गएको निर्वाचनमा मैले जारी गरेको प्रतिबद्धतापत्र अनुसार काम भयो कि भएन भनेर प्रत्येक मतदाताले मलाई सोधुन् भन्ने चाहन्छु । जनताको अदालतमा उभिएर मैले गरेका प्रतिबद्धताको एक–एक जवाफ दिनु मेरो जिम्मेवारी हो ।,’’ उहाँले भन्नुभयो, ‘‘प्रश्न सोध्न पाउने जनताको अधिकार स्थापित गर्न हामीले कांग्रेस बदलेका हौं । देश बदल्छौं भनेर बाचा गरिरहँदा जनताका प्रश्नको जवाफ दिन सक्ने गरी काम गर्नुपर्छ भन्ने पनि बुझेका छौँ । त्यसैले मैले ३१ बुँदे घोषणापत्रको एक–एक बुँदाको उत्तर लिएर आएको छु ।’’
चौधरीका अनुसार उक्त रिपोर्ट कार्डको डिजिटल प्रति सार्वजनिक गरिएको छ भने प्रिन्ट कपी उहाँको सचिवालय, नेपाली कांग्रेसको क्षेत्रीय कार्यालय, प्रत्येक पालिका कार्यालय तथा निर्वाचन क्षेत्रका ३४ वटै वडाका सम्पर्क कार्यालयमा उपलब्ध हुने चौधरीको सचिवालयले जनाएको छ । उहाँले मतदातालाई प्रतिवेदन अध्ययन गर्न र कुनै जिज्ञासा भए टोल–टोलमै पुगेर प्रश्न गर्न आग्रह गर्नुभएको छ ।