रजनी योगी
सुर्खेत, माघ २९ गते । वीरेन्द्रनगर नगरपालिका–४, मित्रनगर टोलका नागरिकले जग्गाधनी पुर्जा दिनेलाई मात्र मत दिने बताएका छन् । बस्तीका करिब ७७ घरपरिवारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा जग्गाधनी लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मात्र मत दिने बताएका हुन् । पुस्तौँदेखि उपभोग गर्दै आएको घरजग्गामा कानुनी स्वामित्व प्रमाण नहुँदा राज्यका आधारभूत सेवा र सुविधा पाउन नसकेको भन्दै स्थानीयले निर्वाचनमा मत माग्न आउने उम्मेदवारसँग लालपुर्जाको माग गरेका हुन् ।
अहिले २०४३ सालमा पाएको सेतो पुर्जा मात्र उनीहरूको हातमा छ । पुस्तौँदेखि बसोबास गर्दै आए पनि हालसम्म कसैको नाममा लालपुर्जा प्राप्त गर्न नसकेको बस्तीका दलबहादुर विश्वकर्माले बताउनुभयो । २०४३ सालमा उहाँले सेतो पुर्जा उहाँले पाउनुभएको हो । लालपुर्जा पाउने आसैआसमा ३९ वर्ष पुगेको उहाँले सुनाउनुभयो । प्रत्येक चुनावमा पुर्जा दिन्छौँ भनेर वाचा गरेका नेताले झुटो आश्वासन मात्र दिएकाले यो पटक पुर्जा दिनेलाई मात्र मत दिने योजना बनाइएको उहाँले बताउनुभयो । लालपुर्जा नहुँदा बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिन, सहकारीमा आबद्ध हुन, कृषि तथा पशुपालन अनुदान प्राप्त गर्न र अन्य सरकारी सेवा सुविधा उपयोग गर्न कठिनाइ भइरहेको बस्तीकी टीकादेवी विकले बताउनुभयो ।
पुर्जाको पर्खाइमा कपाल सेतो भइसकेको भन्दै उहाँले आसैआसमा दिन बिते तर हातमा जग्गाधनी पुर्जा पाउने यकिन नभए पनि पुर्जा दिनेलाई भोट दिने निर्णय गरिएको उहाँको भनाइ छ । विशेष गरी स्वरोजगार र व्यवसाय गर्न चाहने युवा जग्गाको कानुनी स्वामित्व अभावकै कारण अवसरबाट वञ्चित हुँदै आएका छन् । यो पटक मत माग्न आउने जोकोहीलाई उनीहरूले बस्तीका नागरिकले प्रश्न गर्ने गरेका छन् । कर्णाली प्रदेशको राजधानीभित्रकै बासिन्दाले बर्सौंदेखि समस्या झेलिरहेका छन् । मित्रनगरका बासिन्दाले यस पटकको प्रतिनिधि सभा निर्वाचनमा लालपुर्जाको विषयलाई प्रमुख राजनीतिक मुद्दा बनाएका छन् । उनीहरूले अब नाराभन्दा काम महत्वपूर्ण भएकाले लालपुर्जा सुनिश्चित गर्ने स्पष्ट योजना र प्रतिबद्धता प्रस्तुत गर्ने उम्मेदवारलाई मात्र मतदान गर्ने निर्णय सामूहिक रूपमा गरिएको स्थानीय धनबहादुर दमाईंले बताउनुभयो । सरकारले विभिन्न समयमा भूमिहीन दलित तथा सुकुमवासी समस्या समाधानका लागि आयोग गठन गरे पनि ती आयोगले सक्रिय भएर काम गर्न नसक्दा समस्या भएको छ । वीरेन्द्रनगर नगरपालिका–४ मा भूमिहीनको एउटा बस्ती छ । मित्रनगर टोल भनेर चिनिने यो बस्तीमा करिब ७७ घरधुरी छन् । त्यसमध्ये ९५ प्रतिशत दलित समुदायको बसोबास छ । प्रदेश आयुर्वेद औषधालयको उत्तरपूर्वमा रहेको मित्रनगरमा रातदिन लालपुर्जाकै पिरलो छ ।
बर्सौंदेखि घरबास बनाएर बसेका बासिन्दासँग जमिनको स्वामित्व छैन । प्रदेश राजधानीकै बस्ती भए पनि यहाँ पुग्दा जोकोहीलाई कतै विकट गाउँमा पुगेको अनुभूति हुन्छ । हरेक चुनावमा राजनीतिक दल र तीनका उम्मेदवारले लगाउने ‘लालपुर्जा वितरण’ को नाराले मित्रनगरमा आस पलाउँछ । चुनाव सकिएसँगै मित्रनगरको मुख्य समस्या लालपुर्जाको मुद्दा सेलाउँछ । हरेक चुनावमा यही अवस्था भोग्दै आएको मित्रनगर यसपालि पनि आसमा छ । गरिबी र अशिक्षाका कारण आश्वासन बाँडेर भोट प्रभावित पार्न सकिने देखेर नेताहरूले मित्रनगर बस्तीलाई ‘भोट बैङ्क’ का रूपमा मात्रै हेर्ने गरेको बस्तीका बाबुराम श्रेष्ठले बताउनुभयो ।