• २९ माघ २०८२, बिहिबार

स्याङ्जामा आचारसंहिता कार्यान्वयनमा कडाइ

blog

अर्जुन काफ्ले
स्याङ्जा, माघ २९ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा आचारसंहिता कार्यान्वयनमा स्याङ्जामा कडाइ गरिएको छ ।

निष्पक्ष, स्वच्छ र भयरहित बनाउन निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय, स्याङ्जाले राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित सबै पक्षलाई आचारसंहिता विपरीतका गतिविधि नगर्न सचेत गराएको हो ।

कार्यालयले सूचना मार्फत आचारसंहिताको दफा ४ (घ) ले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अंकित ज्याकेट, टिसर्ट, टोपी, मास्क, गम्छा, ब्याज, झोला, स्टिकर, लोगो, ट्याटुजस्ता कुनै पनि सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण तथा प्रदर्शन गर्न निषेध गरेको छ ।यस्तै, दफा १३ (म) अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान मितिभन्दा १७ दिनअघि अर्थात् फागुन ४ गतेदेखि मात्रै घरदैलो कार्यक्रम गर्न पाइने व्यवस्था छ ।

यहाँ आचारसंहिता उल्लङ्घन भएको भन्दै विभिन्न माध्यमबाट १५ वटा उजुरी तथा गुनासो प्राप्त भएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले बताउनुभयो । विशेषगरी जनप्रतिनिधिहरूले आफ्नो पालिकाभित्र उम्मेदवारसँगै भोट माग्दै हिँडेको तथा उम्मेदवारहरूले पनि मतदाता भेटघाटकै क्रममा भोट मागेको, केही राजनीतिक दलले अनुमति नलिई दलको झण्डा प्रयोग गर्ने, निजी घरमा दलको झण्डा तथा चुनाव चिन्ह अंकित तोरण टाँस्ने र सार्वजनिक कार्यक्रममा राजनीतिक अभिव्यक्ति दिने जस्ता गतिविधि गरेको उजुरी परेको सुवेदीले बताउनुभयो ।

उजुरीमाथि आवश्यक अनुसन्धान तथा अनुगमन कार्य निरन्तर भइरहेको र निर्वाचन आचारसंहिता अनुसार कारबाही प्रक्रिया अघि बढाइएको सुवेदीले बताउनुभयो ।

उजुरी परेपछि दुई नगरपालिकाका प्रमुखसँग स्पष्टीकरण समेत सोधिएको छ भने आचारसंहिता विपरीतका गतिविधि नगर्न सबै राजनीतिक दल, उम्मेदवार, भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिलाई पुनः सचेत गराइएको सुवेदीले बताउनुभयो । आचारसंहिता उल्लंघन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ ।