राधाकृष्ण डुम्रे
वालिङ(स्याङ्जा) माघ २९ गते । स्याङ्जाको वालिङ नगरपालिकाले दक्ष जनशक्तिलाई पहिचानको अभियान सुरु गरेको छ । सिप जानेर पनि परीक्षण नगराएकाहरुको पहिचान गरि पालिकाले व्यवस्थित गर्ने काम गरेको हो ।
सिप युुक्त जनश्क्तिको पहिचान गर्ने र नगरका काममा लगाउने पूर्व योजनाका साथ ‘पूर्व सिकाइ मान्यता विधिको सिप परीक्षण’ गराई प्रमाणपत्र समेत वितरण गरेको नगरउपप्रमुख कविता तिवारी गैह्रेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दक्ष र उत्कृष्ट जनशक्तिको पहिचान गरेर नगरका योजनामा उनीहरुलाई उपयोग गर्ने हाम्रो योजना छ ।”
काम जानेर पनि आफैले आफैँलाई मूल्याङ्कन नगरेका जनशक्तिलाई अग्रभागमा ल्याउने पालिकाको योजना रहेको उहाँको भनाइ छ ।
सिटिइभिटीको राष्ट्रिय सिप परीक्षण बोर्डबाट सिप परीक्षणको प्रमाणपत्र समेत उपलव्ध गराईएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ विभिन्न कारणले पढ्न नपाएको भए पनि सिपको प्रयोग गरेर उत्कृष्ट नागरिक बन्न सकिन्छ ।” दक्षताको आधिकारिक प्रमाणपत्र पाएका युवाहरुलाई पालिकाले विकासका योजनामा अगुवाई गर्न प्रेरित गर्ने उहाँको भनाइ छ ।
पालिकाले पहिलो चरणमा ३९ जनालाई सिप परीक्षणको प्रमाणपत्र प्रदान गरेको नगरपालिकाका रोजगार संयोजक पवन बस्यालले जानकारी दिनुभयो । सिटिइभिटीबाट आएको परीक्षाको टोलीले वालिङका नागरिकको सिप परीक्षण गरेको बस्यालको भनाइ छ ।
सिपको प्रमाणपत्र लिएकाहरु मध्ये धेरैजना विदेशबाट नेपाल आएर काम गर्न सुरु गरेका नागरिक रहेको नगरपालिकाका रोजगार सहायक गंगाधर खनाल(राजु)ले जानकारी दिनुभयो । उहाँका अनुसार ३९ जनामध्ये २४ जना विभिन्न देशबाट फर्किएका युवाहरु रहेका छन् ।
रोजगार सेवा केन्द्र मार्फत सिपयुक्त जनशक्तिको रोष्टर तयार गर्ने र सोही अनुसारको काममा लगाउने योजना बनाएको पालिकाले जनाएको छ ।