• २१ फागुन २०८२, बिहिबार

नेपालगन्जमा मुस्लिम महिलाको उत्साहजनक मतदान सहभागिता

blog

नेपालगन्ज–११ मा मतदानका लागि लाम लागेका मुस्लिम महिलाहरू। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, फागुन २१ गते ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार नेपालगन्जमा शान्तिपूर्ण रूपमा मतदान जारी छ। बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मुस्लिम महिलाको उत्साहजनक सहभागिता देखिएको छ। रोजा रमजान चलिरहेको कारण मुस्लिम समुदायका महिलाहरू बिहानै मतदान केन्द्र पुग्न सहज भएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय बाँकेका प्रमुख टेकबहादुर शाहीका अनुसार, “रोजाको कारण छिटै मतदान गरेर आफ्नो काममा लाग्न मुस्लिम महिलाहरू बिहानै मतदान केन्द्रमा बढी देखिएका छन्।”

नेपालगन्ज–११, नारायण मावि मतदान केन्द्रमा भेटिएकी मतदाता फिरदौसले भनिन्, “रोजा भएकाले दिउँसो आउन समस्या हुनसक्ने भएकाले हामी बिहानै मत हाल्न आएका हौँ।”

जिल्लाका १३९ मतदान स्थलमा ४०० मतदान केन्द्रमा बिहान ७ बजेबाट एकैसाथ मतदान सुरु भएको छ। बाँकेका मुख्य निर्वाचन अधिकृत दिपक कुमार दाहालका अनुसार सबै केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ र हालसम्म कतै अवरुद्ध भएको खबर आएको छैन।

मतदान केन्द्रमा बिहानैदेखि मतदाताको उल्लेखनीय भीड देखिएको छ। नेपालगन्ज–६ स्थित हडियाबाबा मतदान केन्द्रकी मतदान अधिकृत अमृता केसीले महिला मतदाताको विशेष उपस्थिति रहेको र पत्रकारका लागि सहज वातावरण बनाइएको जानकारी दिनुभयो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार नेपाल प्रहरी, निर्वाचन प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका टोली परिचालित छन्। मतदान केन्द्रभित्र नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिएका छन् भने केन्द्र बाहिर सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरूले सुरक्षा व्यवस्था गर्दैछन्।

जिल्लाभर शान्ति सुरक्षाको अवस्था सामान्य छ। नेपाल–भारत सीमा नाका बन्द गरिएको छ र सीमा क्षेत्रमा सशस्त्र प्रहरीले विशेष निगरानी राखेको छ।

बाँकेमा कुल ३ लाख ५० हजार ३७१ मतदाता रहेका छन्, जसमा १ लाख ७२ हजार २२३ महिला, १ लाख ७८ हजार ३३९ पुरुष र ९ जना अन्य मतदाता छन्।

उत्साहजनक जनसहभागिता र कडा सुरक्षा व्यवस्थाबिच बाँकेमा मतदान प्रक्रिया शान्तिपूर्ण ढङ्गले अघि बढिरहेको छ।