अनिल पराजुली
हेटौँडा, फागुन २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचनमा विकट बस्तीमा मतदाताहरुको उत्साहजनक सहभागिता भइरहेको छ । दुई निर्वाचन क्षेत्र रहेको मकवानपुरको क्षेत्र नं. १ र २ का विकट बस्तीहरुमा मतदाताको उत्साहजनक सहभागिता भएको हो ।
निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कैलाश गाउँपालिका वडा नं. २ स्थित कमलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रका निर्वाचन अधिकृत गोविन्द अधिकारीका अनुसार यस केन्द्रमा कुल ५३८ मतदाता रहेका छन् । सिमान्तकृत चेपाङसहित तामाङ, मगर, गुरुङ, क्षेत्री र दलित समुदायको सघन बस्ती रहेको यस क्षेत्रमा बिहानैदेखि मतदाताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । कैलाश गाउँपालिकासहित मकवानपुरका १० वटै स्थानीय तहमा आज बिहानैदेखि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको छ ।
यसैबिच नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगरले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरको विकट क्षेत्रमा पुगेर मतदान गर्नुभएको छ । कैलाश–२ स्थित कमलादेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट अध्यक्ष मगर र ८६ वर्षीय सन्त बहादुर प्रज्ञाले पहिलो मतदान गर्नुभएको हो । सदरमुकाम हेटौँडाबाट करिव ५ घण्टा मोटर दुरीमा रहेको यो केन्द्र जिल्लाको दुर्गम र विकट क्षेत्रमा पर्दछ ।
मतदानपछि प्रतिक्रिया दिँदै अध्यक्ष मगरले लोकतन्त्रको जग बलियो बनाउन हरेक नागरिकले मताधिकार प्रयोग गर्नु अनिवार्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नो प्रतिनिधि आफैँ चुन्ने यो ऐतिहासिक र महत्त्वपूर्ण अवसर हो । भौगोलिक विकटताका बाबजुद पनि यहाँको उत्साह लोभलाग्दो छ । म सबै मतदाताहरूलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दछु ।”
मकवानपुर २ मा नेपाली काङ्ग्रेसबाट बुद्ध लामा, एमालेबाट महेश बर्ताैला, नेपाली कम्युनिस्ट पाटीबाट लवशेर विष्ट, रास्वपाबाट प्रशान्त उप्रेती सहित २१ जना उम्मेदवार रहेका छन् ।