• २९ माघ २०८२, बिहिबार

आर्थिक गणनामा परिसङ्घले सघाउने

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ २९ गते । सरकारले अर्थतन्त्रसँग सम्बन्धित पछिल्ला तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले सुरु गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि नेपाल उद्योग परिसङ्घले सहयोग गर्ने भएको छ । यसका लागि बुधबार आयोजित एक कार्यक्रममा कार्यालय र परिसङ्घबिच समझदारी (एमओयु) गरी अध्ययन र तथ्याङ्क विश्लेषणमा सहकार्य गर्ने सहमति भएको छ । 

कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख ढुण्डीराज लामिछानेले गणनामा निजी क्षेत्रको राष्ट्रिय तथ्याङ्कको पूर्ण गोपनीयता कायम गरिने बताउनुभयो । उद्योगी व्यवसायीको विवरणको सुरक्षाप्रति कार्यालय संवेदनशील रहेको उहाँको धारणा थियो । “यो गणना कसैलाई करको दायरामा ल्याउन वा दण्डित गर्न नभई मुलुकको वास्तविक आर्थिक सूचक तयार गरी अनुसन्धान र नीति निर्माण गर्ने प्रयोजनका लागि हो,” उहाँले भन्नुभयो । 

निजी क्षेत्रको सहभागिताबिना यो अभियान सफल हुन नसक्ने भएकाले परिसङ्घ जस्ता सङ्गठित संस्थासँग सहकार्य गर्न चाहेको पनि उहाँले बताउनुभयो । कार्यालयका निर्देशक डा. वेदप्रसाद ढकालले आर्थिक गणनामार्फत अनौपचारिक अर्थतन्त्रको वास्तविक आकार पत्ता लगाउने उद्देश्य राखिएको बताउनुभयो । 

परिसङ्घका महानिर्देशक डा. घनश्याम ओझाले निजी आर्थिक गणना तथ्याङ्क सङ्कलनमा परिसङ्घले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो । सही तथ्याङ्क आए मात्र उद्योगी र सरकार दुवैलाई योजना बनाउन सहज हुने हुँदा निजी क्षेत्र यस प्रक्रियामा जोडिएको उहाँको धारणा थियो ।