छविलाल पाण्डे
बुटवल, माघ २८ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले बढ्दो भ्रष्टाचारका कारण संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था कमजोर हुने भएकोले भ्रष्टाचार नियन्त्रणमा सवैको ध्यान पुग्नुपर्ने बताउनुभएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५ औँ स्थापना दिवसको अवसरमा आयोगको कार्यालय बुटवलमा बुधवार आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्दै प्रदेश प्रमुख घर्ती मगरले भ्रष्टाचार नियन्त्रण गर्नु केवल कानुनी दायित्व मात्र नभई नागरिकको विश्वास जित्ने कर्तव्य भएको उल्लेख गर्नुभयो ।
उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझै वैज्ञानिक बनाउनुपर्नेमा जोड दिदै भ्रष्ट्राचार नियन्त्रणका लागि आयोगसँगै तिनै तहका सरकार, कर्मचारी संयन्त्र र नागरिक समाजको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन प्रवद्र्धन गर्न र भ्रष्टाचार अन्त्यका लागि लुम्बिनी प्रदेश सरकारले रणनीतिक योजना बनाएर काम अघि बढाएको बताउनुभयो।
मुख्यमन्त्री आचार्यले हुनैपर्ने कामहरू पनि अख्तियारलाई देखाएर पन्छ्याउने प्रयास हुने गरेको र त्यसको मार प्रदेश सरकारमा परिरहेको बताउनुभयो । आयोगले पठाएको २१ बुँदे निर्देशनका कारण कतिपय गर्नैपर्ने काममा बाधा उत्पन्न भएको भन्दै मुख्यमन्त्री आचार्यले आयोगको ध्यानाकर्षण गराउनुभयो ।
मुख्यमन्त्री आचार्यले एउटा बेनामे उजुरीको भरमा आयोगले पठाउने पत्रका कारण पटकपटक कर्मचारीले स्पष्टीकरण दिनुपर्दा कर्मचारीको मनोबल घटेको भन्दै आयोगले यो गम्भिर विषयमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको उल्लेख गर्दै तर आज अख्तियारलाई देखाएर हुनैपर्ने काम नहुँदा सरकार मारमा परेको गुनासो गर्नुभयो ।
कतिपय कानुनी सवालमा अख्तियार व्यवहारिक हुनुपर्छ भन्र्दै मुख्यमन्त्री आचार्यले गल्ती गर्ने कर्मचारीलाई कठघरामा उभ्याउनुपर्छ तर सामान्य नाम समेत उल्लेख नगरेको चिठीलाई आधार बनाएर अख्तियारले कर्मचारीलाई पत्र पठाउँदा काम गर्न समेत गाह्रो भएको उल्लेख गर्नुभयो ।
विकास निर्माणका कामहरू अघि बढाइरहेका छौं, कतिपय कामहरू ऐलानी तथा सार्वजनिक जग्गामा गर्नुपर्ने हुन्छ तर आयोगले पुर्जा नभएको स्थानमा लगानी नगर्न भनेर पत्र पठाउँदा विकासका काम प्रभावित भैरहेको छ, उहाँले भन्नुभयाे ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले मुलुकलाई सुशासनयुक्त बनाउन भ्रष्टाचारजन्य कृयाकलाप अन्त्य हुनुपर्ने आवश्यकतामा जोड दिदै अख्तियारले परिवर्तित सन्दर्भमा आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो ।