रवीन्द्र उप्रेती
बर्दिबास, माघ २८ गते । महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले आन्तरिक कारण जनाउँदै उखु क्रसिङ अस्थायी रूपमा बन्द गरेको छ । कारखानाले आज बिहानदेखि क्रसिङ बन्द भएको जानकारी दिएको हो ।
कारखानाका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरका अनुसार यान्त्रिक सरसफाइका कारण क्रसिङ बन्द गर्नुपरेको हो । उहाँले भन्नुभयो, “मिल सञ्चालन भएको ५१ दिन पुगिसकेकाले प्राविधिकको परामर्शमा नियमित सरसफाइका लागि चिनी उत्पादन र क्रसिङ बन्द गरिएको हो ।”
यान्त्रिक सफाइको काम पूरा गर्न ४८ घण्टा वा सोभन्दा बढी समय लाग्न सक्ने अनुमान गरिएको छ । सफाइको काम सकिएपछि बिहीबारसम्म कारखाना पुनः सञ्चालनमा आउने मिल प्रशासनले जनाएको छ ।
कारखाना परिसरमा उखु बोकेर आएका सयौँ गाडीहरू मिल सञ्चालनको प्रतीक्षामा रहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले जानकारी दिनुभयो । मिल बन्द भएसँगै ग्रामीण भेगका खरिद केन्द्रहरूले पनि अर्को सूचना नभएसम्मका लागि उखु तौल गर्ने प्रक्रिया स्थगित गरेका छन् ।
वित्तीय महाप्रबन्धक ठाकुरका अनुसार मिल सञ्चालन भएदेखि एभरेस्टले दैनिक ४० हजार क्विन्टल उखु क्रसिङ गर्दै आएको छ ।