काठमाडौँ, माघ २८ गते । महिला टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालको तर्फबाट सर्वाधिक रन बनाउँदै उत्कृष्ट प्रदर्शन गर्नुभएकी बिन्दु रावललाई अमरावती बुटिक होटल प्रालिले ५० हजार रुपियाँसहित सम्मान गरेको छ ।
नेपाली महिला क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै उहाँलाई सम्मान गरिएको हो । प्रतियोगितामा बिन्दुले कुल ९१ रन बनाउनुभएको थियो ।
यस्तै प्रतियोगितामा सर्वाधिक विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गर्ने सिता रानामगर र मनिषा उपाध्यायलाई जनही ३५ हजार रुपियाँ प्रदान गरिएको छ । सिता र मनिषा दुवैले समान चार चार विकेट लिनुभएको थियो ।
अमरावती बुटिक होटलका प्रबन्ध निर्देशक कुशल श्रेष्ठले सम्मान कार्यक्रमका क्रममा खेलाडीको उपलब्धिले नेपाली महिला क्रिकेटलाई दीर्घकालीन रूपमा अघि बढाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।