नवीनराज कुइँकेल
लमजुङ, माघ २७ गते । लमजुङको मध्यनेपाल–७, करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलाको तयारी तीव्र बनाइएको छ ।
महाशिवरात्री पर्वको अवसरमा लाखौँ दर्शनार्थीको भिड लाग्ने इशानेश्वर महादेव मन्दिरमा मेला व्यवस्थापनको निम्ति तयारी भएको हो । महाशिवरात्री मेलालाई व्यवस्थित बनाउन इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिले एक महिना अघिदेखि नै तयारी सुरु गरेको छ ।
आगामी फागुन ३ गते हुने विशेष मेलाका लागि आवश्यक संरचना एवं अन्य व्यवस्थापन तयारी गरिएको इशानेश्वर मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष गुणराज घिमिरेले जानकारी दिनुभयो ।
साविकका वर्षझैँ यसवर्ष पनि देश विदेशबाट आउने दर्शनार्थी एवं भक्तजनलाई सहज पूजाको व्यवस्थापन तथा अन्य कार्यका लागि विभिन्न ३६ वटा उपसमिति गठन गरिएको छ । समितिले स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायको प्रतिनिधिसहितको भेलाले मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरेको हो ।
महाशिवरात्रीको बेला इशानेश्वर महादेव मन्दिरमा काठमाडौँको पशुपतिनाथ पछिको धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थल मानिन्छ । साविकका वर्षझैँ यसवर्ष पनि महाशिवरात्रीको अवसरमा श्रीमद्भागवत सप्ताह लगाइने भएको छ । आगामी २९ गतेदेखि सप्ताह सुरु हुने र शिवरात्रीको भोलिपल्ट फागुन ४ गते समापन हुने अध्यक्ष घिमिरेको भनाइ छ ।
मन्दिरमा शिवरात्रिको अघिल्लो मध्यराति मन्दिरमा विशेषपूजा गरेपछि बिहानैदेखि शिवमन्दिरमा दुध चढाउनेहरूको भिड लाग्ने गर्दछ । अन्य दिन मन्दिरभित्र प्रवेश गर्न नपाइने भए पनि शिवरात्रिको दिन भने दर्शनार्थीले मन्दिरभित्र प्रवेश गरेर आफैले शिवलिङ्गमा दुध चढाउने र पूजा गर्ने गर्दछन् ।
इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पुज्ने चलन छ । इशानेश्वर महादेवको दर्शनगरी पूजा अर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने जनविश्वास छ । महाशिवरात्रीको अवसर पारेर लामो समय अघिदेखि सन्तान नभएका सयौं दम्पतिहरू मन्दिर परिसरमा रातभर जाग्राम बसी ठाडो बत्ती बाल्ने गर्दछन् ।
त्यसोगर्दा सन्तान लाभ हुने भएकाले बत्ती बाल्नका लागि काठमाडौँ, कास्की, चितवन, तनहुँ, गोरखा, पर्वत, स्याङजा, नवलपरासीदेखिका भक्तजनहरू लमजुङको करापुटार आउने गर्दछन् ।
समितिले ठाडो बत्ती बाल्नेका लागि दर्ता शुल्क ५०० रुपियाँ र बसेर बत्ती बाल्नका लागि दर्ता शुल्क ३०० रुपिया लिने गर्दछ । सो बाहेक महाशिवरात्रीकै अवसरमा सामूहिक व्रतबन्ध, प्रसादका लागि भण्डारा र मनोरञ्जनका लागि रमाइलो मेला हुने समितिले जनाएको छ ।
त्यससँगै महाशिवरात्रीकै अवसरमा भलिबल प्रतियोगिता, ठाडोभाका एवं भजनकीर्तन हुने गरी व्यवस्थापन गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो । श्रीस्वस्थानी व्रतकथामा पनि हालको इशानेश्वर महादेव मन्दिरमा सतीदेवीको दायाँ तिघ्रा पतन भएको वर्णन गरिएको छ । त्यस पुण्य भूमिमा ताराकेश्वर महादेव उत्पन्न भई, इशानकोणमा अवस्थित रहेकाले सो तारकेश्वर महादेवलाई इशानेश्वर स्वरूप भनी इशानेश्वर महादेव नामकरण गरिएको किंवदन्ती छ ।