काठमाडौँ, माघ २७ गते । नेदरल्यान्ड्सले आइसिसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हरायो ।
जितसँगै नेदरल्यान्ड्सले दुई खेलबाट दुई नै अङ्क बनाएको छ । नेदरल्यान्ड्स यसअघि पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो । पहिलो खेल खेलेको नामिबियाले भने हारबाट विश्वकप यात्रा सुरु गरेको छ ।
जितका लागि एक सय ५७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८ ओभरमा तीन विकेटको क्षतिमा एक सय ५९ रन जोड्दै पूरा गरेको थियो । नेदरल्यान्ड्का लागि बास डे लिडेले अविजित ७२ रन बनाउनुभयो ।
कोलिन एकरम्यानले ३२, माइकल लेभिटले २८ र कप्तान स्कट इडवार्डसले अविजित १८ रन बनाउनुभयो । बलिङमा नामिबियाका बर्नाड स्कोल्ज, कप्तान जेरार्ड इरासमस र जान निकोल लफ्टी इटनले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५६ रन बनाएको थियो ।नामिबियाका लागि लफ्टी इटनले सर्वाधिक ४२ रन बनाउनुभयो ।
यस्तै जान फ्रायलिन्कले ३०, जेजे स्मिटले २२ र कप्तान जेरार्ड इरासमसले १८ रन बनाउनुभयो । बलिङमा नेदरल्यान्ड्सका लोगान भान भिक र बास डे लिडेले दुई दुई तथा आर्यन दत्त र फ्रेड क्लासेनले एक एक विकेट झार्नुभयो ।