• २७ माघ २०८२, मङ्गलबार

गण्डकीमा २१ हजार किशोरीलाई एचपिभी खोप

blog

सन्तोष सुवेदी

कास्की, माघ २७ गते । पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा गण्डकी प्रदेशभर यो पटक २१ हजार किशोरीले खोप लगाउने तयारी गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार २१ हजार एक सय ३४ किशोरीले एचपिभी खोप लगाउने छन् । 

माघको २७ गतेबाट सुरु भएको एचपिभी खोप अभियान फागुन १५ गतेसम्म रहने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका खोप अधिकृत एकनारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार यो पटक कक्षामा ६ मा अध्यनरत छात्रा र स्कुल जान नसक्ने अवस्थाका १० वर्ष उमेर पुगेका किशोरीलाई खोप लगाइने छ । 

गण्डकी प्रदेशभर १८ सय ४० विद्यालयमा खोप लगाइने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशभरका जिल्लाहरुमा मध्ये सबैभन्दा बढी कास्कीमा पाँच हजार छ सय ४९ जनालाई खोप लगाइँदैछ । कास्कीमा भने माघ २७ गतेबाट खोप सञ्चालन भएको लम्सालले जानकारी दिनुभयो । गोरखामा १८ सय ८०, म्याग्दी नौ सय २३, लमजुङ १२ सय ५८, तनहुँ २६ सय २५, नवलपरासी पूर्व ३५ सय ८५, स्याङ्जा १७ सय ८९, पर्वत नौ सय ५०, बागलुङ २३ सय दुई जना किशोरीलाई एचपिभीको खोप लगाइँदैछ । 

उहाँका अनुसार यो समय चिसोको मात्रा बढी भएकोले मनाङ र मुस्ताङमा खोप अभियान सुरु भएको छैन । ‘‘गण्डकी प्रदेशका दुई जिल्ला मनाङ र मुस्ताङमा निर्वाचनपछि सुरु हुँदैछ । मनाङमा २६ र मुस्ताङमा एक सय ४७ जना किशोरीलाई निर्वाचन पछि खोप लगाइने छ,’’ उहाँले भन्नुभयो । 

उक्त खोपबाट किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट जोगाउन लगाइने छ । नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेकाले सरकारले यो निवारणका लागि खोप अभियानलाई प्राथमिकतामा राखिएको हो । खोप उपलब्ध गराउन सङ्घीय मन्त्रालयबाटै पहल भएपछि सातै प्रदेशमा सम्बन्धित मन्त्रालय र मातहतका विभागले सेवा प्रवाहमा खटिएर खोप अभियान सम्पन्न गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।