ठाकुरप्रसाद आचार्य
म्याग्दी, माघ २७ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न म्याग्दीमा तालिम प्राप्त निर्वाचन प्रहरीलाई कार्यक्षेत्रमा परिचालन गर्न थालिएको छ ।
दस दिने तालिम पूरा गरेका ८ सय ६१ निर्वाचन प्रहरीलाई घरपायक पर्ने इलाका तथा प्रहरी चौकीसँग समन्वय गरी सुरक्षाको जिम्मेवारीमा परिचालन गर्न लागिएको हो ।
तालिम लिएका निर्वाचन प्रहरीलाई भोली बुधबार देखि घरपायक पर्ने इलाका तथा प्रहरी चौकीहरूमा निर्वाचन सुरक्षाको गस्तीका लागि प्रहरीसँगै खटाइने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो ।
मङ्गलबार तालिमको समापन कार्यक्रममा जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाचन प्रहरीको भएको बताउनुभयो । उहाँले भन्नुभयो, "निर्वाचन प्रहरीले आफ्नो कार्यक्षेत्रमा इमानदारिता पूर्वक क्षमता प्रदर्शन गर्नुहुने छ । निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न यहाँहरूले योगदान पुर्याउनु हुने छ । जसको राज्यले उच्च कदर गर्ने छ ।"
प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले निर्वाचनमा खटिने निर्वाचन प्रहरीले अनुशासित भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले राम्रो सँग जिम्मेवारी निर्वाह गर्ने निर्वाचन प्रहरीलाई प्रशंसापत्र प्रदान गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,‘‘निर्वाचन प्रहरी पनि सुरक्षाको एउटा अङ्ग हो । निर्वाचनलाई सफल रूपमा सम्पन्न गर्ने महत्त्वपूर्ण जिम्मेवारी यहाँहरूको काँधमा छ । ४० दिने जागिर मात्र नभएर यो देशका लागि योगदान गर्ने अवसर पनि हो । यहाँहरुको सकरात्मक प्रयासले मुलुकमा निर्वाचन सम्पन्न भई नयाँ जनप्रतिनिधि चयन हुने छन् । जसले गर्दा मुलुक नयाँ बाटोमा अगाडि बढ्ने छ ।’’
कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतम, श्री गुरु गोरख गुल्म, अर्थुङ्गे ब्यारेकका प्रमुख राकेश बस्नेत, सशस्त्र प्रहरी बल, आश्रित गुल्म गलेश्वर म्याग्दीका शसस्त्र प्रहरी नायब उपरीक्षक लीलाबहादुर भुजेल र राष्ट्रिय अनुसन्धान कार्यालय म्याग्दीका प्रमुख अनुसन्धान अधिकृत विजय पौडेलले निर्वाचनलाई सफल बनाउन निर्वाचन प्रहरीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।
प्रहरी नायब उपरीक्षक थापाले निर्वाचनका समयमा खटिने सुरक्षाकर्मीसँगको समन्वयमा निर्वाचन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभयो । निर्वाचन प्रहरीले सुरक्षाकर्मीसँग मिलेर मतदान स्थलको सुरक्षा,भयरहित वातावरण बनाउन सहयोग र मतपेटिकाको ढुवानी लगायतका विषयमा सहयोग पुर्याउनु पर्ने बताउनुभयो ।
तालिम अवधिभर निर्वाचन प्रहरीलाई मतदान स्थलको जानकारी,सुरक्षा, भिड नियन्त्रण गर्ने तरिका,निर्वाचन ऐन कानुन सम्बन्धी जानकारी लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । म्याग्दीमा ८ सय ६१ निर्वाचन प्रहरी भर्ना गरिएको छ ।