सिराज खान
नेपालगन्ज, माघ २७ गते । जिल्ला प्रशासन कार्यालयको सूचनालाई अनुशरण गर्दै बाँके जिल्लामा ७५ थान इजाजत प्राप्त बन्दुक सर्वसाधारणले प्रहरीलाई बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीले जिल्ला प्रहरी कार्यालय मातहतका इलाका प्रहरी कार्यालय, प्रहरी चौकीलगायतका स्थानमा हालसम्म ७५ थान हातहतियार बन्दुक बुझाइएको बताउनुभयो ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षालाई ध्यान दिएर जिल्ला प्रशासन कार्यालय बाँकेले इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो ।
स्थानीयले प्रहरीलाई बुझाएका हातहतियारमा भरुवा बन्दुक बारबोरलगायत रहेको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पातलीले बताउनुभयो ।
जिल्लामा सर्वसाधारणसँग ५५५ वटा हातहतियार बन्दुक रहे पनि हालसम्म ७५ वटा मात्रै बुझाएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार ५५५ जना व्यक्तिले हतियार राख्न लाइसेन्स(इजाजत) लिएका छन् । यसरी इजाजत लिने कतिपय व्यक्तिसँग दुई वा तीन वटासम्म हतियार र लाइसेन्स रहेको छ ।
हातहतियार खरखजाना ऐन, २०१९ ले सुरक्षा चुनौतिका आधारमा इजाजत लिएर सर्वसाधारणले पनि हतियार राख्न पाउने व्यवस्था गरेको छ । सोही कानुन अनुरूप सर्वसाधारणले हतियार राखेका हुन्। हालसम्म निकै कमले हतियार बुझाएको हुँदा फेरि पनि हतियार बुझाउन आग्रह गरिने र त्यसपछि पनि नबुझाउनेको खोजी गरिने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
नेपाल भारत नाकासँग जोडिएको बाँकेमा निर्वाचन सुरक्षा चुनौती सधैं रहने भएकोले जिल्लाको सुरक्षा कडा पार्न नाका बन्ददेखि विशेष सुरक्षा गस्ती र विशेष चुनावी सुरक्षा योजना बनाएर अगाडि बढ्ने जिल्ला सुरक्षा समितिले जनाएको छ।
जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निर्वाचनलाई शान्तिपूर्ण रूपमा निष्पक्ष तरिकाले सम्पन्न गर्न सुरक्षाका सबै उपायहरू अपनाइने बताउनुभयो ।