• २६ माघ २०८२, सोमबार

आयोजक झापा–११ सेमिफाइनलमा

blog

सोमबारको खेलमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का

बिर्तामोड, माघ २६ गते । आयोजक झापा–११ बिर्तामोडमा जारी सातौँ झापा गोल्डकप फुटबल प्रतियोगितामा जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ । 

सोमबार भएको क्वाटरफाइनल खेलमा झापा–११ ले सिक्किमको सिङलिङ स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गरेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेलको निर्णय टाइब्रेकरमार्फत गरिएको थियो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र बिवेक मगरले गोल गर्नुभयो । 

सिङलिङका लागि सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङले गोल गर्नुभयो । सिङलिङका सुजन सुब्बाको प्रहार झापाका गोलरक्षकले विफल पार्नुभएको थियो ।

दीपेश क्षेत्रीको प्रहार पोष्टबाट बाहिरिएको थियो । ‘प्लेयर अफ दि म्याच’ झापा–११ का गोलरक्षब बिवेक मगर हुनुभयो । उहाँले २५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । प्रतियोगिताअन्तर्गत मङ्गलबार दोस्रो क्वाटरफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र लालिगुँरास एशोसिएसन पोखराबिच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले  सात लाख ५० हजार रुपियाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । ब्यक्तिगत विधाका विजेताले जनही ३५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।