• १६ भदौ २०८१, आइतबार

नेपाली सिनेमाघरमा चार चलचित्र

blog

काठमाडौँ, साउन १ गते । यो साता नेपाली सिनेमाघरहरूमा चार नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । दुई कलिउड चलचित्र ‘सम्झना बिर्सना’ र ‘सिल्ली फो’ दुई बलिउड चलचित्र ‘स्याबास मिठू’ र ‘जुदा हो के भी’ प्रदर्शनमा आएका हुन् । राजबहादुर सानेको निर्देशन रहेको चलचित्र ‘सिल्ली फो’ले चारजना पात्रको जीवनमा आउने उतारचढावको कथा बताउँछ । मनोज डिके निर्माता र विशाल श्रेष्ठ सह–निर्माता रहेको चलचित्रमा केकी अधिकारी, रवीन्द्र झा, राजाराम पौडेल, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईं, अनिता लामिछानेलगायतको अभिनय देख्न सकिन्छ । 

‘सम्झना बिर्सना’ प्रेमकथामा निर्माण भएको चलचित्र हो । चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नुभएको छ । अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा देखिनुभएको चलचित्रमा सुनील थापा, छुल्ठिम गुरुङ, शिशिर राणालगायतको समेतअभिनय रहेको छ ।

बलिउड चलचित्र ‘स्याबास मिठू’ भारतीय महिला क्रिकेट कप्तान मिथाली राजको जीवनमा आधारित चलचित्र हो । चलचित्रमा तापसी पन्नु, विजयराज र रिजर्ड भक्ति क्लेन मुख्य भूमिका रहेको छ भने चलचित्रलाई सुरजित मुखर्जीले निर्देशन गर्नुभएको हो । 

यस्तै अर्को प्रदर्शनमा आएको बलिउड चलचित्र हो ‘जुदा हो के भी’ । चलचित्रलाई विक्रम भट्टले निर्देशन गर्नुभएको हो भने अक्षय ओबराय, रुसद राना मुख्य भूमिकामा देखिनुभएको छ । चलचित्र भूतप्रेतको कथामा आधारित रहेको छ ।