भावना जोशी
अत्तरिया (कैलाली), माघ २४ गते । कैलाली क्षेत्र नं. ५ बाट उम्मेदवार रहनुभएका नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले मतदातामाझ आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै धनगढी उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरोन्नति गर्न पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।
उहाँले धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाका विभिन्न वडामा इन्टरनेट तथा आइटी सेवा विस्तार, विद्यालय, स्वास्थ्य संस्था र सरकारी कार्यालयमा डिजिटल पूर्वाधार सुदृढ गर्ने योजना सार्वजनिक गर्नुभएको हो । स्वास्थ्य क्षेत्रअन्तर्गत नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउँदै निजी अस्पतालसम्म विस्तार गर्ने, सेती प्रादेशिक अस्पताललाई सङ्घीय सरकार मातहत ल्याई स्तरोन्नति गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।
गेटामा सञ्चालनमा रहेको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएस अध्ययन सञ्चालन र ६ सय शैय्याको अस्पताल स्थापना गर्ने विषय उहाँले प्राथमिकतामा राख्नुभएको छ ।
युवालक्षित सीपमूलक तालिम केन्द्र स्थापना, स्टार्टअप कर्जाको दायरा विस्तार तथा “एक युवा, एक रोजगार” अभियानमार्फत पाँच वर्षमा कम्तीमा पाँच हजार रोजगारी सिर्जना गर्ने लक्ष्य ढुङ्गानाले प्रस्तुत गर्नुभएको छ । औद्योगिकरणमार्फत स्वदेशमै रोजगारी सिर्जना गर्ने र श्रमिकको न्यूनतम ज्याला प्रभावकारी कार्यान्वयन गर्न पहल गरिने उहाँको प्रतिवद्धता छ ।
कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, कृषि बीमा, खाद्य प्रशोधन उद्योग स्थापना तथा भूमिहीन र सुकुम्वासीलाई लालपुर्जा वितरणको कामलाई तीव्रता दिने उहाँको प्रतिबद्धतापत्रमा उल्लेख छ ।
पूर्वाधारतर्फ सडक, खानेपानी, खेलमैदान तथा सहरी विकासलाई प्राथमिकतामा राख्दै धनगढीमा “एक घर, एक धारा” नीति पूर्ण रूपमा कार्यान्वयन गर्ने बताउनुभएको छ ।