• २४ माघ २०८२, शनिबार

मतदाताका कुरा सुन्न घरदैलोमा अध्यक्ष ओली

blog

झापाका मतदातासँग नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।

विष्णुप्रसाद पोखरेल 

दमक, माघ २४ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा मतदाता तथा स्थानीय जनताका कुरा सुन्न घरआँगनमा पुग्नुभएको छ ।

एमालेले पार्टीका तर्फबाट स्थानीय क्षेत्रको प्रतिबद्धतापत्र तथा घोषणापत्र बनाउनुअघि स्थानीयको आवाज सुन्न आफू घरदैलोमा आएको ओलीले बताउनुभएको छ । शनिबार झापाको कमल गाउँपालिकाका एक दर्जनभन्दा बढी स्थानीय चोक तथा बजारमा पुगेर ओलीले स्थानीयका माग सुन्नुभएको हो ।

“म आज मेरा कुरा सुनाउन भन्दा कुरा सुन्न आएको हुँ,” कमल गाउँपालिकाको क्याम्पामा स्वागतका लागि बसेका स्थानीयलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबैका भावना र माग समेटेर हामी मुलुकलाई समृद्ध बनाउने अभियानमा जुटेका छौँ ।” उहाँले यस क्षेत्रको विकासमा आफूले कहिल्यै कञ्जुस्याइँ नगरेको समेत स्पष्ट पार्नुभयो ।

आफूलाई आफ्नो निर्वाचन क्षेत्रमा बारम्बार आउन मन भए पनि राष्ट्रिय राजनीति र मुलुकलाई सही दिशा निर्देश गर्न केन्द्रमा रहनुपर्ने बाध्यताले बाक्लो उपस्थिति जनाउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका समस्या र विकासप्रतिको चाहना मैले राम्ररी बुझेको छु ।”

कसैको भ्रम र डरमा नपरी देश बनाउने पक्षमा खुलेर आउन उहाँले मतदातालाई आग्रह गर्नुभयो । “अब देशलाई समृद्ध बनाउने सपना साकार पार्न यहाँहरूको योगदान जरुरी छ,” मतदातासँग उहाँले भन्नुभयो । यस क्षेत्रका जनताले गरेको विश्वासकै कारण आफूले मुलुकको नेतृत्व गर्दा धेरै काम गरेको र कसैको शिर झुकाउने काम नगरेको उहाँले दाबी गर्नुभयो ।

“यहाँ विकास भएन भने यहाँ केही विकास नै भएन भन्छन्, विकास भयो भने यहाँ मात्रै विकास भएर हुन्छ र भन्छन् ! नकारात्मक सोच भएकाहरूले जे गर्दा पनि विरोध मात्रै गर्ने गरेका छन्,” उहाँले भन्नुभयो ।

एमाले झापा क्षेत्र नं. ५ निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालका अनुसार ओलीले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग घरदैलोमा गएर समस्या सुन्ने र सुझाव लिने कार्य केही दिन जारी रहनेछ । स्थानीयले आफ्ना कुरा प्रष्टसँग राख्न सक्ने वातावरण बनाइएको उहाँले जानकारी दिनुभयो ।