सिराज खान
नेपालगन्ज, माघ २४ गते । केही दिनयता पुनः सुरु भएको शीतलहर तथा हुस्सुका कारण भिजिबिलिटी कम हुँदा नेपालगन्जबाट हुँदै आएका हवाई उडान प्रभावित भएका छन् ।
शनिबार बिहानैदेखि लागेको हुस्सु र कुहिरोका कारण भिजिबिलिटी नपुग्दा दिउँसो २:३० बजेसम्म कुनै पनि हवाई उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपालगन्जले जनाएको छ ।
नेपालगन्ज विमानस्थलको टावरका अनुसार जहाज उडाउन (टेक अफ) एक हजार र अवतरण (ल्यान्डिङ) का लागि एक हजार ६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ । शनिबार बिहानैदेखि भिजिबिलिटी निकै कम भएकाले दिउँसो साढे दुई बजेसम्म उडान ठप्प भएको हो ।
आवश्यक भिजिबिलिटी पुगेपछि विमानस्थल खुलेको र त्यसपछि मात्र उडान सुरु हुने टावरले जनाएको छ । बिहानैदेखि उडान नहुँदा सयौँ यात्रु विमानस्थलमा उडानको प्रतीक्षामा रहेको विभिन्न एयरलाइन्सले जनाएका छन् ।
शनिबार काठमाडौँबाट बिहान ८:४५ बजे बुद्ध एयरले पहिलो उडान गर्ने समयतालिका रहे पनि दिउँसो २:४५ बजेसम्म उडान हुन नसकेको बुद्ध एयर नेपालगन्जका प्रमुख विनीत शाहले जानकारी दिनुभयो। उहाँले मौसमका कारण नेपालगन्ज र काठमाडौँ दुवै विमानस्थलमा यात्रु अलपत्र परेको जानकारी दिनुभयो ।
केही दिनदेखि नेपालगन्जको मौसम प्रतिकूल हुँदा बिहान काठमाडौँ र पहाडी जिल्लामा हुने उडान प्रभावित हुँदै आएका छन् । नेपालगन्जबाट काठमाडौँका लागि श्री एयरलाइन्सले चार, बुद्ध एयरले चार र यति एयरलाइन्सले दुई वटा नियमित उडान दैनिक गर्दै आएका छन् भने पहाडी र हिमाली जिल्लामा यहाँबाट उडान हुने गर्छ ।
केही दिनदेखि हवाई उडान समयमा नहुँदा नेपालगन्ज विमानस्थलबाट काठमाडौँ र पहाडी जिल्लाको यात्रा गर्न टिकट लिएका यात्रुले समस्या झेल्नुपरेको आरएस ट्राभल्सका सञ्चालक रवि गिरीले बताउनुभयो ।