• २४ माघ २०८२, शनिबार

निर्वाचन प्रहरीलाई मतदान केन्द्र सुरक्षाको नमुना अभ्यास

blog

मतदान केन्द्रको नमुना अभ्यास गरिँदै । तस्बिर : नारद कोहार

नारद कोहार

तौलिहवा(कपिलबस्तु), माघ २४ गते । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा सञ्चालन भइरहेको निर्वाचन प्रहरी तालिमका क्रममा निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन मतदान केन्द्रको नमुना अभ्यास सञ्चालन गरिएको छ ।

निर्वाचनको दिन शान्ति सुरक्षा कायम राख्ने उद्देश्यले गरिएको सो अभ्यासमा मतदान केन्द्रको सुरक्षा व्यवस्थापन, भीड नियन्त्रण, मतदाता सहजीकरण, आकस्मिक अवस्था व्यवस्थापन तथा कानुनी दायित्वका विषयमा व्यावहारिक अभ्यास गराइएको थियो । अभ्यासका क्रममा मतदान स्थल वरपरको सुरक्षा घेरा, प्रवेश निर्गमन व्यवस्थापन तथा संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने कार्यविधिबारे स्पष्ट निर्देशन दिइएको थियो ।

कार्यक्रमको निरीक्षण गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रहरीको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ, त्यसका लागि व्यवहारिक अभ्यासमार्फत जनशक्तिलाई दक्ष बनाइएको हो ।

प्रहरी उपरीक्षक आचार्यले तालिमबाट प्राप्त सीप र ज्ञानलाई वास्तविक कार्यस्थलमा इमानदारीपूर्वक प्रयोग गर्न निर्देशन दिँदै निर्वाचन सुरक्षामा कुनै कमजोरी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कपिलबस्तुमा २ हजार ९९३ जना निर्वाचन प्रहरी छनाेट भएका छन् ।