सिराज खान
नेपालगन्ज, माघ २४ गते । बाँकेमा फेरि केही दिनयता अत्यधिक बढेको चिसोले गर्दा जिल्लाको जनजीवन प्रभावित बनेको छ । गत साता परेको पानी र पहाडी तथा हिमाली जिल्लामा परेको हिउँका कारण चिसो फेरि अत्यधिक बढेको हो ।
माघको दोस्रो सातामा चिसो कम भए पनि त्यसयता पुनः बढ्दै जाँदा फेरि धेरै बढेकोले जनजीवन निकै प्रभावित बनेको स्थानीयले जनाएका छन् ।
चिसोका कारण सर्वसाधारणलाई घरबाट निस्कन समेत समस्या भएको नेपालगन्ज २ का स्थानीय कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले गत साताअघि घटेको चिसो फेरी बढ्दै जाँदा सर्वसाधारणलाई समस्या भएको बताउनुभयो ।
सोही प्रकारले नेपालगन्ज त्रिभुवन चोकका जावेद राईले चिसोकै कारणले अहिले फेरि बजारमा मानिसको आवागमन र चहल पहल घटेको तथा व्यापार व्यवसाय समेत प्रभावित भएको बताउनुभयो । उहाँले चिसोले गर्दा रिक्सा बाहेकका सवारी साधन समेत निकै कम चलेको र गरिब तथा विपन्नलाई काम गर्न समस्या भएको जनाउनुभयो ।
यस्तै, फेरि बढ्ने चिसोका कारण मौसमी भाइरल फ्लुबाट पीडित हुनेहरू पनि बढ्दै गएका छन् । चिसो बढेसँगै जिल्लामा भाइरल फ्लुका बिरामीहरू बढ्दै गएको अस्पतालहरूले जनाएका छन् । फेरि बढेको चिसोका कारण जिल्लामा भाइरल फ्लु अर्थात ज्वरो, रुघाखोकी, निमोनिया र कोल्ड डायरियाका बिरामीहरुको सङ्ख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले चिसो बढेसँगै बाँकेका विभिन्न ठाउँमा भाइरल फ्लु देखिएकोले सचेत रहन सर्वसाधारणलाई आग्रह गरिएको बताउनुभयो ।
सोही प्रकारले भेरी अस्पतालका सुचना अधिकारी तथा वरिष्ठ फिजिसियन डा. सङ्केतकुमार रिसालका अनुसार उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिङ्गान निस्कने र पखाला समेत लाग्ने लक्षण देखिने फ्लुका बिरामीहरू अहिले अस्पतालमा सबैभन्दा बढी आउने गरेका छन् ।
सोही प्रकारले सञ्जिविनी अस्पताल नेपालगन्जका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रोमन किदवाईले गत केही समययता आएर अस्पतालमा फेरि भाइरल फ्लुका बिरामी आउने क्रम बढेको बताउनुभयो । उहाँले भाइरल फ्लु भएर अस्पताल आउनेहरूमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको बताउनुभयो ।