काठमाडौँ, साउन १ गते । सिसडोल र बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य स्थानीय तहमा पनि आजदेखि फोहोरको वर्गीकरण गर्नुपर्नेछ । घर, कार्यालय, कलकारखानाबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरलाई छुट्याएर अलग–अलग भाँडोमा मात्र फोहोर सङ्कलन गर्ने सवारीसाधनसम्म ल्याउनुपर्ने हुन्छ ।
त्यसो नगरे ल्याएको फोहोर फिर्ता लैजानुपर्ने हुन्छ र कारबाहीस्वरूप नगद जरिवानासमेत तिर्नुपर्ने हुन्छ । काठमाडौँ महानगरपालिकाले साउन १ गतेदेखि लागू हुने गरी सो प्रावधान लागू गरेको छ ।
काठमाडौँ महानगरपालिकाका कृषि तथा वातावरण विभाग प्रमुख सरिता राईले फोहोरको सहज सङ्कलन तथा व्यवस्थापनका लागि साउन १ गतेदेखि स्रोतमा नै कुहिने र नकुहिने फोहोर छुट्याएर मात्र सङ्कलन गर्ने प्रावधान कडाइसाथ लागू गर्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार महानगरले हप्तामा दुई दिन कुहिने र दुई दिन नकुहिने फोहोरको सङ्कलन र व्यवस्थापन गर्नेछ । आइतबार र बुधबार कुहिने र सोमबार र शुक्रबार नकुहिने फोहोरको सङ्कलन तथा व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । विभाग प्रमुख राईका अनुसार कुहिने र नकुहिने फोहोर छुट्याएर नल्याए प्रत्येक पटक पाँच सय रुपियाँ जरिवानासमेत गरिनेछ ।
उहाँले कुहिने फोहोरलाई सकेसम्म कम्पोस्ट मल, गड्यौले बनाई आफ्नै करेसाबारी वा कौसीखेतीमा प्रयोग गर्न, नकुहिने पुनः प्रयोग हुनसक्ने सामानलाई पुनः प्रयोग गर्न र चक्रिय फोहोरलाई कवाडी व्यवसायीलाई बिक्री गरी आर्यआर्जन गर्नसमेत महानगरले आग्रह गरेको बताउनुभयो । त्यसैगरी प्लास्टिकको झोलाको सट्टा कपडा वा जुटको झोला प्रयोग गर्नसमेत महानगरले सबैसँग आग्रह गरेको छ ।
घरदैलो कार्यक्रम
यसैबीच काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले कुहिने र नकुहिने फोहोर छुट्याउन जनचेतना फैलाउन शनिबार घरदैलो कार्यक्रम गर्नुभयो । ‘स्रोतमा नै फोहोर नमिसाउने अभियान’ लेखिएका प्रचार सामग्री बोकेर घरघरमा पुग्नुभएका महानगर प्रमुख साहले तालिकाअनुसार तोकिएको दिन तोकिएकै फोहोर सवारीसाधनसम्म ल्याउन सर्वसाधारणलाई आग्रहसमेत गर्नुभयो ।
शनिबार वडा १८, १९, २०, २४ र २५ वडामा पुगेर नागरिकलाई महानगरको फोहोर वर्गीकरणसम्बन्धी कार्यक्रमबारेमा जानकारी गराइएको थियो । यस क्रममा इन्द्रचोक, मखन, यट्खा, नरदेवी, बाङ्गेमुढा, क्षेत्रपाटीलगायत क्षेत्रमा माइकिङ्सहितको सचेतना -याली गरिएको थियो । शुक्रबार वडा १२, २१, २२, २३ लगायत क्षेत्रमा सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो ।