• २४ माघ २०८२, शनिबार

ध्वनिप्रदूषण गर्ने मोटरसाइकल नियन्त्रणमा

blog

नियन्त्रणमा लिइएको ध्वनिप्रदूषण गर्ने मोटरसाइकल । तस्बिर : अनिल पराजुली

अनिल पराजुली    
हेटौँडा, माघ २४ गते ।
मकवानपुर प्रहरीले ध्वनिप्रदूषण गर्ने एक दर्जन मोटरसाइकल नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बजारक्षेत्रमा चेकजाँच गर्ने क्रममा स्वरूप परिवर्तन गरी चलाइएका विभिन्न ब्रान्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

सवारी साधनको विभिन्न पार्टपुर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सर बिगारी वा परिवर्तन गरी पड्किने आवाज निकाल्ने, रातको समयमा चर्को ध्वनिप्रदूषण मच्चाउने, समाजमा अशान्ति र आतङ्क सृजना गर्ने गरी चलाइएका मोटरसाइकलमाथि कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एवम् प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले बताउनुभयो ।

प्रहरीले बा.प्र. ०३–००६ प. ४८९८, प्र.३–०२–००९ प. ५१८१, ना. ४३ प. ९८, बा.प्र. ०३–००५ प. ७५८८, बा.प्र.३–००५ प. ९६१९, बा. ३९ प. ९१४१, बा.प्र. ०३–००५ प. ९०९०, बा. ५४ प. ४८९८, ध. १ प. ५९२३, प्र.३–०२–०१० प. ९९०८, ना. ५७ प. ८५०७ र बा.प्र.०६–००१ प. ८७५० नम्बरको मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका मोटर साइकललाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय, हेटौँडामा पठाइएको उहाँले जानकारी दिनुभयो । कारबाही भएर आए पश्चात् मोटरसाइकललाई मुल स्वरूपमा नल्याउँदासम्म चालकलाई मोटरसाइकल फिर्ता नगरिने उहाँले स्पष्ट पार्नुभयो । प्रहरीले अनुमतिबिना सवारी साधन मोडिफिकेसन नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।