• ८ चैत २०८२, आइतबार

स्याङ्जामा पुराना दललाई नयाँको चुनौती

blog

उम्मेदवारहरू । तस्बिरः अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, माघ २४ गते ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लागेसँगै स्याङ्जामा चुनावी सरगर्मी बढेको छ। दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा ११ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसहित दुवै क्षेत्रमा १२–१२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्।

नेपाली कांग्रेसका नेता विश्वेश्वरप्रसाद कोइरालाले “कांग्रेस खोज्न स्याङ्जा जानुपर्छ” भनेको जिल्ला पनि स्याङ्जा नै हो। २०४८ सालमा चार निर्वाचन क्षेत्र रहेको स्याङ्जामा त्यसपछि २०६४ सम्म तीन र त्यसयता दुई निर्वाचन क्षेत्र कायम छन्। यहाँ कांग्रेस र एमाले बाहेक अन्य दलले सङ्घीय सांसद जित्न नसकेको इतिहास छ।

२०४८ सालमा कांग्रेसबाट चारै क्षेत्रमा गोपालमान श्रेष्ठ (क्षेत्र नं. १), रुद्रमान गुरुङ (२), दिनबन्धु अर्याल (३) र शङ्कर पाण्डे (४) निर्वाचित हुनुभएको थियो। मध्यावधि निर्वाचन २०५१ मा तीनै क्षेत्रमा नेकपा एमालेका त्रिलोचन ढकाल (१), धुव्रराज लम्साल (२) र महेन्द्र थापा (३) विजयी हुनुभएको थियो।

२०५६ सालको आम निर्वाचनमा एमालेका हितकाजी गुरुङ क्षेत्र नं. १ मा विजयी हुँदा क्षेत्र नं. २ मा कांग्रेसका गोपालमान श्रेष्ठ र क्षेत्र नं. ३ मा कांग्रेसकै शङ्कर पाण्डे विजयी हुनुभएको थियो। संविधानसभा निर्वाचन २०६४ मा एमालेका हितकाजी गुरुङ (१), गोपालमान श्रेष्ठ (२) र मोहन पाण्डे (३) विजयी हुनुभएको थियो भने २०७० मा क्षेत्र नं. १ मा कांग्रेसका राजु थापा, क्षेत्र नं. २ मा कांग्रेसका कमल पङ्गेनी र क्षेत्र नं. ३ मा एमालेका मुक्ति पाठक विजयी हुनुभएको थियो।

सङ्घीय निर्वाचन २०७४ मा क्षेत्र नं. १ मा एमालेका नारायण मरासिनी र क्षेत्र नं. २ मा एमालेकै पद्मा कुमारी अर्याल विजयी हुनुभएको थियो भने २०७९ मा क्षेत्र नं. १ मा कांग्रेसका राजु थापा र क्षेत्र नं. २ मा कांग्रेसका धनराज गुरुङ विजयी हुनुभएको थियो।

संघ मात्र होइन, प्रदेश र स्थानीय तहका निर्वाचनमा समेत कांग्रेस र एमालेकै प्रभाव रहेको स्याङ्जामा यस पटक भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले चुनौती दिएका छन्।

क्षेत्र नं. १ मा नेपाली कांग्रेसका भरतराज ढकाल र नेकपा एमालेका मीनप्रसाद गुरुङलाई रास्वपाका डा. धनञ्जय रेग्मी र नेकपाका शैलेन्द्र रेग्मीले चुनौती दिनुभएको छ। त्यस्तै, क्षेत्र नं. २ मा नेपाली कांग्रेसका भगवतप्रकाश मल्ल र एमालेका खिमबहादुर थापालाई रास्वपाका झविलाल डुम्रे र नेकपाका पदम विकले चुनौती दिनुभएको छ।

निर्वाचनमा दुवै क्षेत्रमा प्रमुख चार दलले आफ्ना उम्मेदवार विजयी हुने दाबी गरेका छन्। कांग्रेस र एमालेका नेताहरूले विगतझैँ यस पटक पनि जित कायम रहने बताएका छन् भने नेकपा र रास्वपाका नेताहरूले यस पटक दुई दलको एकछत्र प्रभाव तोड्ने दाबी गरेका छन्।

रास्वपाका अध्यक्ष विश्वास भण्डारीले ३० वर्षमा जनताले चाहेको परिवर्तन नपाएकाले वास्तविक परिवर्तनका लागि आफ्नो पार्टीले जित्ने दाबी गर्नुभयो। पछिल्लो जनलहर नै त्यसको आधार भएको र कसैले जित रोक्न नसक्ने उहाँको भनाइ छ।

त्यस्तै, नेकपाका अध्यक्ष लोकेन्द्र थापाले पनि आफ्ना उम्मेदवार विजयी हुने बताउनुभयो। जिल्लामा सङ्गठन कमजोर भए पनि सरकारमा रहँदा राम्रो काम गरेको र पछिल्लो समय विभिन्न दलसँग एकता भएकाले पनि आफूहरू विजयी हुने उहाँले दाबी गर्नुभयो।