• २४ माघ २०८२, शनिबार

बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध पाँच दिनको म्याद थप

blog

वर्षीया बालिकालाई ठक्कर दिने कार। तस्बिर : जिल्ला प्रहरी कार्यालय रौतहट

प्रवीण कुमार शर्मा
रौतहट, माघ २४ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट रौतहट क्षेत्र नं. २ का उम्मेदवार सगीर आलमको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका कार चालक शेख मुस्ताकलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत रौतहटले आदेश दिएको छ।

म्याद थपका लागि प्रहरीले शुक्रबार चालक मुस्ताकलाई अदालतमा उपस्थित गराएको थियो। जिल्ला सरकारी वकिल कार्यालय रौतहटमार्फत मुस्ताकलाई जिल्ला अदालतमा पेश गरिएको थियो।

पक्राउ परेका चालकविरुद्ध प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभयो।

ईशनाथ नगरपालिका–३ मठिया टोलमा कारको ठक्करबाट घाइते भएकी चार वर्षीया बालिका अल्फा खातुनको उपचारका क्रममा बिहीबार मृत्यु भएको थियो। बालिकालाई अस्पताल पुर्‍याएर फरार रहेका परोहा नगरपालिका–३ तेजापाकड, रौतहटका २७ वर्षीय चालक मुस्ताकलाई प्रहरीले खोजतलासपछि पक्राउ गरेको थियो।

बालिकालाई ठक्कर दिने समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आलम कारमा नरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।