सचिन पोख्रेल
इटहरी, माघ २४ गते । खुला सिमाना रहेका नेपाल र भारतबिच सीमा सुरक्षा तथा आपराधिक गतिविधि नियन्त्रणका लागि सूचनाको आदान–प्रदान गर्ने, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश रोक्ने र सुरक्षा निकायबिच सशक्त सहकार्य तथा समन्वय गर्ने सहमति भएको छ।
त्यसैगरी, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागु औषध ओसारपसार नियन्त्रणलगायतका विषयमा पनि दुवै देशका सीमा सुरक्षामा परिचालित सुरक्षा निकायबिच सहकार्य गर्ने सहमति भएको छ।
सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बिच मोरङ जिल्लाको विराटचोकमा सम्पन्न १६औँ डिआइजी तहको समकक्ष समन्वय बैठकमा सीमा स्तम्भको संरक्षण, नो–म्यान्स ल्यान्ड व्यवस्थापन, यात्रु सहजीकरण, नियमित संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्ने विषयमा दुवै पक्षबिच सहमति भएको हो।
नेपालमा आगामी फागुन १५ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचनअघि ४८ घण्टा अगावै सीमा सिल गर्ने, संयुक्त गस्ती बढाउने तथा सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने निर्णय पनि बैठकले गरेको सशस्त्र प्रहरी बल नं. १ वराह बाहिनी मुख्यालयका सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिनुभयो।
बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुमार न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्दै सीमा केवल दुई देशबिचको भौगोलिक रेखा मात्र नभई मित्रता, सहकार्य र आपसी विश्वासको प्रतीक भएको उल्लेख गर्नुभयो। भारतका तर्फबाट एसएसबीका डिआइजी सरोज कुमार ठाकुर (आइपिएस) ले आगामी दिनमा द्विपक्षीय सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठकले सीमा क्षेत्रमा शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न आपसी समन्वय, सहयोग तथा सूचनाको आदान–प्रदानलाई अझ प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ। बैठक सौहार्दपूर्ण र सकारात्मक वातावरणमा सम्पन्न भएको थियो।
उक्त बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट नायब महानिरीक्षकहरू कुमार न्यौपाने, अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह, कृष्ण ढकाल र मनीष थापाको उपस्थिति रहेको थियो। त्यस्तै, भारतीय एसएसबीका तर्फबाट डिआइजीहरू सरोज कुमार ठाकुर, मञ्जीत सिंह, सुरेश सुब्रमणियम, राजेश टिक्कु र मनीष कुमारको सहभागिता रहेको थियो। बैठकमा नेपालतर्फ सशस्त्र प्रहरी बल तथा भारततर्फ सशस्त्र सीमा बलका वरिष्ठ अधिकृतहरूको उल्लेखनीय सहभागिता रहेको थियो।