• २४ माघ २०८२, शनिबार

आमाको औषधी (कथा)

blog

टुसुक्क बसेकी ।

मूलढोकाको बिचमा । 

सधैँ झैँ– टाउकोमा रातो मजेत्रो । सेतो भुइँमा राता, कलेजी स्टबेरी फलेका ढाकाको चौबन्दी चोलो । 

निधारमा ठुलो, बाटुलो, रातो टीका । 

चौतारोलाई बायाँ लगाउनेबित्तिकै छर्लङ्ग देखिएकी ।

“दर्शन आमा ।” 

सामान्य हुन खोज्दै एउटा हातले भित्तो समातेर, फुस्किन्छ कि झैँ समातेको अर्को हात चकटीबाट उठाएर आशीर्वाद दिइन् ।  पूर्णिमाको जून खुले झैँ खुलिरहेकी थिइन् ।

दसकौँदेखि औषधी र अक्सिजनले फुलेका आँखा चमचमाए । 

झोला नै बोक्न आउने झैँ, जोसले जुरुक्क उठ्न खोजिन् । तर...

मिनेट मिनेट नापेर, सिलिन्डरमा जोडिएको बोतलले बुलुबुल गर्दै गर्वका साथ हुँदैनको सङ्केत मात्र दिएन; बुकुर्सी मार्न तम्सिएको राँगो नाके रसीले झड्कारेर नियन्त्रण गरे झैँ रोकिदियो । रोकिएन उनको मातृत्व ।

थाकेको भरियाले उठी उठी नाम्लो, पिठिउँको ठाउँ सारे झैँ गरिन् र मुख आँ... गरिन् ।

बेलुन झैँ फुलेको छातीमाथि हात राखेर सास बिसाई बिसाई बोलिन्– कत्ति असेट... सास पुगेन । पूरा भएन वाक्य ।

जवाफ दिइरहेको थियो– टिलपिल गरिरहेका एक जोडी आँखाले । नाकको पाइप मिलाए झैँ गर्दै भित्तोतिर लुकेर आँसु पुछिन् । “सबैलाई आँखाअघिल्तिर नदेखी मर्न मनै छैन रे आमालाई”, आशाले आमाको बाँकी वाक्य पूरा गरिदिई ।

आमाको नियमित काम– तपाईं आउने दिन गन्ने हो ।  

कहिले थपिदिने । कहिले घटाइदिने ।

अलिकति जिस्किई आशा ।

आँखा झिम्क्याउँदै, मस्किँदै बोली, “आज घटाएको दिन परेछ ।” हाम्री आमा ज्योतिषी ।

बिर्सिन्छु कि भन्दै ल्याएको झोला, बिर्सी उसले । 

सम्झी, थिचिई– प्रश्नहरूको सुनामीले ।  

आत्तिई । सपना जस्तो लागिरहेको थियो उसलाई । 

कतै ? निभ्ने बेलाको बत्ती भन्छन्... ।

आमाकी फुपू... महिनौँ थला परेकी मान्छे, बोलिन् रे, मन परेको खाइन् रे । भेट्न मन लागेकालाई खबर पठाई पठाई भेटिन् रे– त्यस्तै पुगनपुग २४ घण्टा टाठी भइन् रे । भेट्न आउनेहरू पनि छक्क परे रे । बालापनको स्मरण सुनाइन् रे । नातागोताले खाए नखाएको याद गरिन् रे । धन्सारमा फुटेको गाग्रोमा, कातेको धागोको मुठाभित्र कति हजार बत्ती छन्, लाखबत्ती लगाउन लाग्ने पैसा पनि प्लास्टिकले कसेर राखेको भनिन् रे... ।  घाम जसै डाँडामुनि नाप्न गयो, फुपू उसै घामसँगै लुकामारी गरिन् रे ।

रे... । चिट् चिट् थाकेर थिएन । 

आफ्नाहरूको नापनक्साले लतारेर ।

कोही कता, कोही कता । सजिलै न समय, न सामथ्र्यले आउन सकिने । दिदी सात समुद्रपारि सुत्न तरखर गर्दै होली । बहिनीको उठ्ने घन्टी बज्दै होला । दाइ... कसकोमा अनुनयविनय गर्दै होला । के उनीहरूको बौद्धिकता, सम्पन्नताले यो समाचार रोक्न सक्छ ? थेग्न सक्छ ? 

ऊ आफैँलाई थेग्न गाह्रो भो ।  

भान्साअघि गाडिएको धारामा मुख धुँदै उसले पसिना पखाल्दै थिई, आशाको प्रश्नले ऊ तर्सी– “के हो दिदी, तपाईं त रोए जस्तो छ त ?” 

उसले हैन, किन रुने भन्न सकिन । 

पानीमा खेलिरही ।

साङ्केतिक जवाफ दिई– “गर्मी भो ।” 

उतैबाट करेसाबारी गई । हेर्न परेन कसैलाई ।

केराउका चिचिला कोसा टिपेर खाएको नाटक गरी । गुलाफमा विद्यावारिधि गरे झैँ फूल मुसारी । टोलाई । आमाले जमानामा आफ्नो दिदीकहाँबाट ल्याएर बचाएकी ।

आकाशसँग साउती मारी– हो संसार यसरी नै चल्छ । चल्नु पर्छ ।  अनि अम्बाको बुटामा के के न भेटे झैँ गरी । 

भेट्न त भेटी नि ! उसको मनले खिचिरहेको चित्र भेटी ।  

भँगेरा र भँगेरीले चुचो जोरेर आहारा खुवाइरहेको दृश्यमा आफू, बा, आमालाई राखेर पेट भर्ने गरी हेरी । नेटफिक्सको सिनेमा जस्तो । आशाको आशा टुप्पोबाट पलाएको थियो । भुइँमा खुट्टा थिएन ।  एक्लै बाआमा स्याहार गर्नु सजिलो कुरा हैन तर पनि दुःखी छैन । गुनासो गर्दिन । उसको आफ्नै मन्त्र– जिउँदा देवताको सेवा रे । 

उसैले अर्ती दिन्छे । भिडियो कलमा फकाउँछे । 

परिस्थिति अनुसार पढ्ने अवसर एकै हो सबैको । उसले पढिन । तर सहजै भन्दिन्छे, “मैले पनि तिम्रो झैँ पढेको भए भन– घर कल्ले हेथ्र्यो ?” सबै पढेका, जागिर खाएका ठाउँमा पनि घर त हेरिएकै छन् तर ऊ कसैलाई दोष लगाउँदिन– ‘नो भिक्टिम ब्लेमिङ’ ।   

सबैले पढ्नै पर्छ भन्ने छैन । जीवन अर्थपूर्ण बाँच्न पैसाले मात्र पनि केही गर्दैन । आत्मविश्वास र आत्मसन्तुष्टि नै हर जीवनको सफलता हो । आशा भुनभुनाउन थाली, “हैन, के काम देखाउन प¥यो ? थकाइ लागेको छैन ? खाने हैन ?”

“आमासँग बस्न आ’को हैन ? काम त जति गरे पनि सकिँदैन, यो घरको काम ।” उसले दिक्दारी छचल्काई ।

“तपाईंलाई मन पर्ने भुटी भात ल्याएँ है– आमाले बनाइदिने जस्तै । खुरुक्क आउनु ।”

“तपाईं आउन रहेछ, मैले एक कप चामल नै धेरै हालेछु आज ।” माहोल भावुक बनाई ।

“दिदी, तिमी आमाको बारेमा गफै गर्दैनौ त ?” आशाले कुरा निकाली ।“के सोध्नु, मलाई सबै थाहै छ नि, हैन र ?” 

दाहिने परेला फुरफुर पार्दै भनी, “गाह्रै छ । विदेशमा मनोविज्ञान पढेको मान्छे रे, खै मेरो मनोविज्ञान पढेको ? खै आमाको, बाको मनोविज्ञान जानेको ?” 

आफैँ जान्ने भएर जवाफ नै नकुरी बोली, “हुन त विदेशको पढाइ नेपालको पढाइसँग के मिलोस् ?” 

“डिग्री छैन, तलब पनि आउँदैन तर मलाई आउँछ नेपालको मनोविज्ञान,” केही धाक, केही घुर्कीको 

स्वरमा बोली । 

“तिमीले भनेको सबै ठिक पनि हैन । सबै बेठिक पनि हैन ।” “विदेशमा पनि आमा बा हुन्छन्, उनीहरूको प्रेम हुन्छ, छोराछोरी हुन्छन्, सम्पत्ति हुन्छ, सम्बन्धमा ठाकठुक हुन्छ । पढ्ने त्यही, पढाउने त्यही । मैले महसुस गर्न सक्छु । फेरि मैले पढ्न जानुभन्दा अघि त... ।” 

“दिदी, तपाईंले आमाबालाई पहिले जस्तै सोच्नुभएको छ जस्तो लागिरहेको छ ?”  

“अ... अ... आमाले घर...?”

आमा किन घरमा नभएको पनि थाहा भएन । रातिसम्म आमा नआएपछि, सँगै बा पनि घर नभएपछि छिमेकीबाट थाहा भयो ।

आमा र बाको झगडा भएको थियो रे । आमाले औषधी गर्न काठमाडौँ जाने भन्नुभएको थियो रे । बासँग पैसा थिएन रे । आमाले ऋण गरेर भने पनि जाम्न, त्यहाँ राम्रो डाक्टर छन् भन्नुभएको थियो रे ? खासमा आमा रोगी भएर, थला परेर मर्नुभन्दा पहिल्यै आफैँ मर्छु भनेर जानुभएको रे । 

तिमीले कति सम्झिन सकेको ? 

तिमीलाई सम्झना छ कि छैन मलाई थाहा छैन । पारिजात चोककी पोख्रेल्नी आमा, बलियी थिइन् । सबैकी प्यारी थिइन् । पाँच पाँच भाइ छोराका आमा थिइन् । गाउँले सबैले माया गर्थे । छोराहरू पढेका थिए । बलिया थिए । पैसावाल थिए । इलम पनि थियो । पोख्रेल्नी आमालाई सबैले भाग्यमानी भन्थे । धर्मात्मा छिन् पनि तर उनी एक्लै भइन् । जब उनी अचानक, राति राम्रै सुतेकी मान्छे बिहान ओछ्यानमा बेहोस थिइन् । अस्पताल त लगे । खर्च पनि गरेका हुन् रे । उनी उठ्न सकिनन् । श्रीमान्ले पनि मन मारे ।

तीन महिना पनि के पुगेको थिएन रे, उनी सास त फेर्थिन् केही थाहा पाउँदिनथिन् । दिसापिसाबसँग मुढो पल्टिएझैँ हुँदा ढाडमा घाउसँगै किरा परेछन् । गुहु वा सिनोमा पर्ने किरा क्या (ओठले नाकका पोरा छोप्दै) अस्पतालबाट घर ल्याएपछि न औषधी न नर्स न... ।  आमालाई त्यसरी मर्छु कि भन्ने डर थियो, आशा । त्यसैले अलिकति बिरामी हुनेबित्तिकै उपचार खोज्नुहुन्थ्यो । राम्रो बानी थियो त्यो । तिमीलाई थाहा छ, हामीले आमा भनेर चिन्दा नै उहाँलाई सास फेर्न गाह्रो हुन्थ्यो । 

दमको रोग भएको मान्छेले यतिका छोराछोरी पाउनु नै अचम्मको कुरा हो । मैले पढेको किताबमा सम्भव नहुने वा खतरा भनिएको कुरा आमाले पार लगाउनुभएको थियो । यो सब मैले पहिले कहाँ जानेको थिएँ र ?

आशा– अट्टहास हासो हाँसी । 

“हो हो– पहिले नै जानेको भए ।”

“भन, के सम्झिएर हाँसेकी ? पक्कै... मेरै कुरा होला ।”

“मैले खोकिदिऊँ त, के के न मैले नै खोकी लगाइदिएको झैँ कचकच गरेको छ, गाली गरेको छ ? भनेर कल्ले जवाफ लगाएको ?” दुवै मरी मरी हाँसे । चाडबाड आउनु, जाडो आउनु, पाहुना आउनु भनेको आमाको काम बढ्नु थियो । अर्थात् आमा बिरामी हुनु । 

आशा दिदीलाई उछिन्दै बोली, “आमा बिरामी हुनु भनेको, घरमा बाआमाको झगडा हुनु पनि... ।” 

“आफ्नो हातमा पैसा नहुनु, बिसन्चो भएको बेला, आफ्नो खुसीले अस्पताल जान नपाउनु नै आमाले बासँग मात्र हैन; आफ्नै जिन्दगीदेखि हारेको अनुभूति गर्नुहुँदो रहेछ ।” ऊ बोल्दाबोल्दै उसको आवाज मधुरोसँगै रुन्चे सुनियो ।

हो, आमाले आफैँ पैसा कमाउन कोसिस गर्नुभयो तर सम्भव भएन । कहिले हामी साना । कहिले बाले समाजले के भन्छ भनेर गर्न नदिने । हुँदाहुँदा एक पटक आमाले नाङ्लो पसलमा चकलेट बेच्ने निर्णय पनि गर्नुभयो । मर्नुअघि आफ्नो किरिया गर्दा लाग्ने खर्च पनि आफँै कमाउने धोको थियो उहाँमा । त्यो समय आजको समय जस्तो हुन्थ्यो भने जे पनि सजिलो थियो । आमा जाँतोमा पिसिएको घुन झैँ पलपल पिसिनुभएको थियो । 

दिदी, मैले नपढे पनि एउटा कुराचाहिँ बुझेँ ।  

आमालाई अचेल मर्न मन छैन । डाक्टरले भन्नुभन्दा पहिल्यै मलाई अस्पतालमा झैँ अक्सिजन घरमा लगाउन मिल्दैन भनेर सोध्नुभयो । 

देख्नुभएन– कति सफा, राम्री भएर बस्नु पर्छ ? 

कोठाभित्र नबस्ने रे, बाहिर ढोकामा बस्ने सबैलाई देख्न पाइन्छ, बोल्न नसके पनि हात हल्लाउन पाइन्छ रे । फुर्सद हुनेले यसो पसेर उभिई उभिई दिदी, भाउजू, आमा भन्छन् रे । भेट्न आउने सबैलाई भन्नुहुन्छ– उहाँ भाग्यमानी रे ।  

औषधी त के नै खानुहुन्छ र ? सधैँ खाने दमको नै त हो, सुँघ्ने र खाने । आमामा बल दिने औषधी अर्कै... ।

आमाको रोग हटाउने औषधी । आमालाई मान्छे बनाउने औषधी । आमाको सिरानीमुनि आफैँ हेरेर आउनुस् त । 

रातो, प्लास्टिकले लेमिनेसन गरेको सानो किताब ।

लेखिएको थियो– लालपुर्जा ।

घरधनीको नाम– गङ्गामाया ।

हरेक पाठेघर लिएर जन्मिएकाहरूले खानैपर्ने औषधीको नाम हो– लालपुर्जा ।